बुटवल– ‘माननीय सभामुख महोदय, म सरकारको तर्फबाट एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्न चाहन्छु’ यो कुनै संघीय संसद वा प्रदेश सभामा बोलिएको भनाई होईन, यो त बुटवल–८, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलका हलमा व्यक्त विचार हो । जहाँ विद्यालयका साना विद्यार्थीहरू देशको नीति निर्माण गर्ने थलो संसद कार्यपालिकाको कार्यशैली बुझ्न व्यवहारिक अभ्यासमा जुटेका थिए।
विद्यालयले पुस २५ गते शुक्रबारका दिन नमुना संसद् कार्यक्रम –२०८२ आयोजना गरी विद्यार्थीहरूलाई प्रजातान्त्रिक अभ्यास, कानुनी प्रक्रिया र नेतृत्व विकासको व्यवहारिक ज्ञान प्रदान गरेको छ। नमुना संसद्मा विद्यार्थीहरूले विभिन्न मन्त्री र विपक्षी दलका नेताको भूमिकामा खरो उत्रिएका थिए । कक्षा १० का कुशल अर्यालले सभामुखको भूमिका निर्वाह गरे भने कक्षा १० का आशिका थापा प्रधामन्त्री ।

कक्षा ९ की मञ्जिल ज्ञवाली उपप्रधान तथा गृहमन्त्री, कक्षा १० की शुभेच्छा पन्थी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुँदा ऋषि भट्टराई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र रिजन खनाल युवा तथा खेलकुद मन्त्री भए । विद्यार्थी सुहाना बन्जाडेले कानुन तथा संसदीय व्यवस्था मन्त्री र दीपा केशरीले बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा संसदमा बोले । यति मात्रै होईन विद्यार्थीहरुमध्येबाटै सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्राट श्रेष्ठ उभिए । विपक्षी दलको प्रमुख सचेतकका रूपमा आशिका पाण्डेले आफ्नो प्रभावकारी भूमिका निर्वाह गरिन्।
संसदीय मर्यादा बमोजिम माननीय सम्बोधन गर्दै प्रश्नोत्तर र बहसको दृश्य देख्दा लाग्थ्यो- यी साना हातहरू भोलि देश हाक्न सक्षम छन्। दीप बोर्डिङले आयोजना गरेको यो दुई दिने अभ्यासले शिक्षा केवल पुस्तकमा मात्र सीमित नभई व्यवहारमा हुनुपर्छ भन्ने सन्देश दिएको छ।
विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै संस्कार र सीप सिकाउँदै आफ्नै देशको माटोको सुगन्ध थाहा पाउने जिम्मेवार नागरिक बनाउन आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए । बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु, उपाध्यक्ष उमाकान्त चापागाईं र लुम्बिनी प्रदेश युवा परिषद्का निवर्तमान उपाध्यक्ष गोविन्द खत्रीले विद्यार्थीहरूलाई उत्साह थप्दै व्यवहारिक ज्ञान आजको आवश्यकता भएको औल्याए । उक्त अवसरमा उपप्राचार्यद्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको पनि उपस्थिती रहेको थियो ।
नमूना संसद अभ्यासलाई सफल बनाउन कार्यक्रम संयोजक कृष्ण भुसाल र सञ्चालक छवि ज्ञवालीले सक्रिय भूमिका निर्वाह गरेका थिए भने विद्यार्थीहरूलाई संसदीय मर्यादा र कानुनी प्रक्रिया सिकाउन अधिवक्ता अमर पाण्डे र कानुनका विद्यार्थी शङ्कर भुसालले प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए ।
उक्त अवसरमा प्रदेश युवा परिषदका निवर्तमान उपाध्यक्ष गोविन्द खत्री, प्रधानमन्त्रीको भूमिकामा रहेकी विद्यार्थी आशिका थापा, प्रशिक्षक अमर पाण्डेले विद्यार्थीको आत्मविश्वास बढाउने र भविष्यमा सक्षम नागरिक तयार पार्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।


