Lumbini Rise
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक

वुटवल- सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिका नाच्ने र अभिभावकहरूले ताली बजाउने दृश्य नियमित जस्तै लाग्छन्। तर, बुटवल–११ कालिकानगर स्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा एउटा यस्तो दृश्य देखियो, जहाँ दृश्य र भूमिका दुवै बदलिएका थिए। घरको भान्सादेखि विभिन्न कार्यालयका कार्यकक्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाउँदै आएका आमाहरू जब साङ्गीतिक धुनमा स्टेजमा उत्रिए, तब उपस्थित दर्शकहरू मात्र होइन, स्वयम् आफ्नै सन्तानहरू पनि मन्त्रमुग्ध भए।

​अभिभावकहरूमा लुकेको सुसुप्त प्रतिभालाई प्रस्फुटन गराउने र उनीहरूको आत्मविश्वासमा नयाँ ऊर्जा भर्ने उद्देश्यले आयोजित ‘मम्मी डान्स कम्पिटिसन’ मा २० जना आमाहरूले आफ्नो कलाको जादु छरेका थिए।

​प्रतियोगितामा सहभागी २० जना आमाहरू समाजका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दथे। कोही घरको व्यवस्थापनमा तल्लीन गृहणी थिए भने कोही कार्यालय र व्यवसाय सम्हाल्ने पेसाकर्मी। तर स्टेजमा उत्रिँदा उनीहरूको परिचय केवल 'कलाकार' को थियो।

​आफ्नो नृत्य कौशल र मञ्चीय प्रस्तुतिले सबैलाई चकित पार्दै गङ्गा भट्टराई प्रथम घोषित हुनुभयो। त्यसैगरी, सीता श्रेष्ठले द्वितीय र सबिता विकले तृतीय स्थान हासिल गर्नुभयो। प्रतियोगितामा विष्णु पल्ली मगरलाई सान्त्वना र सुधा नेपालीलाई प्रोत्साहन पुरस्कारद्वारा सम्मानित हुनुभयो। यो केवल जित–हारको प्रतिस्पर्धा मात्र थिएन, बरु आमाहरूको बहुआयामिक व्यक्तित्व र उनीहरूको आफ्नै पहिचानको उत्सव थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनीले आमाहरूको भूमिकाको चर्चा गर्दै भन्नुभयो: ​"आमाहरू केवल सन्तानको रेखदेख गर्ने पात्र मात्र हुनुहुन्न; उहाँहरू त घर र कार्यक्षेत्र दुवैलाई सन्तुलनमा राख्ने कुशल व्यवस्थापक र विद्यालय संस्कृतिको प्रेरक शक्ति हुनुहुन्छ। उहाँहरूको यो उत्साह र प्रतिभालाई सम्मान गर्ने मञ्च प्रदान गर्नु नै वास्तवमा समग्र शैक्षिक र सामाजिक विकासको बलियो आधार हो। आमाहरूमा यो आत्मविश्वासले नै भोलिको पुस्तालाई निडर र सक्षम नागरिक बन्न प्रेरित गर्दछ।"
​त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक एवं सस्थापक रामराज पोख्रेलले आमाहरूको सशक्तिकरणले बालबालिकाको सिकाइमा प्रत्यक्ष ऊर्जा थप्ने कुरामा जोड दिनुभयो।

 कार्यक्रमको संयोजन नबिना पाण्डे मगरले गर्नुभएको थियो। निर्णायकको रूपमा नृत्य निर्देशक बिश्वास गुरुङ र दिपा राना   प्राविधिक पक्षहरूको मूल्याङ्कन गर्नुभएको थियो। कार्यक्रमको प्रभावकारी सञ्चालन सिमरन थापा र ब्युटी रसालले गर्नुभएको थियो।भने स्वागत कोर्डिनेटर माया पौडेलले गर्नुभएको थियो ।

इन्टलेक्चयुअल एकेडेमीले आयोजना गरेको यो कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश दिएको छ— शिक्षा भनेको किताब मात्र होइन, यो त परिवार र समाजका हरेक सदस्यको क्षमतालाई कदर गर्ने माध्यम पनि हो। घर र कार्यालयको दोहोरो जिम्मेवारी कुशलतापूर्वक निभाउने आमाहरूको आत्मसम्मान र पहिचानलाई सशक्त बनाउन विद्यालयले चालेको यो कदमको चौतर्फी प्रशंसा गरिएको छ।सो कार्यक्रममा विद्यार्थीहरुले विविधखाले  नृत्य ,गित ,कविता लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update