Lumbini Rise
ज्ञानोदयमा जुर्मुराए पूर्व विद्यार्थी: ६५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा यादहरूको उत्सव


​मजुवा, गुल्मी - समयका अनगिन्ती घुम्तीहरू पार गरेर कोही उच्च अदालतको बेन्चमा पुगे, कोही प्रशासनको बागडोर सम्हाल्न पुगे त कोही देश-विदेशको चिकित्सा र प्राविधिक क्षेत्रमा चम्किए। तर, जब 'श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय'को ६५ औं वार्षिकोत्सवको घण्टी बज्यो, ती सबै ओहदा र पदहरूलाई मजुवाकै माटोमा बिसाएर पूर्व विद्यार्थीहरू फेरि एकपटक 'विद्यार्थी' बनेर आफ्नो आँगनमा भेला भए।

माघ ५ गते मनाइने ६५ औं वार्षिकोत्सबको पूर्वसन्ध्यामा शनिबार विद्यालयको प्राङ्गणमा आयोजित 'पूर्व विद्यार्थी मिलन तथा अन्तरक्रिया कार्यक्रम' केवल एउटा औपचारिक कार्यक्रम मात्र रहेन, यो त बाल्यकालको स्मृति, गुरुप्रतिको अगाध श्रद्धा र विद्यालयप्रतिको दायित्व बोधको एउटा भावुक सङ्गम बन्यो।

​ढुङ्गा र माटो बोक्नेदेखि नमुना बनाउनेसम्मका कथा
​कार्यक्रममा उपस्थित गुरुहरूको अनुभवले  हलमा रहेका सबैको ध्यान खिचेको थियो । स्थापनाकालका शिक्षक लालमणी अर्यालले विगतका संघर्ष सम्झँदै भन्नुभयो, "हामीले दिउँसो पढाएर साँझ स्कुलको आर्थिक स्रोत जुटाउन भैलो खेल्यौं। पुरानो भवनका ढुङ्गा, माटो र काठ हामी आफैंले बोकेर ल्याएका हौं। आज यो विद्यालय 'नमुना' भएको देख्दा तराईको चिसो र बुढ्यौलीको थकाई सबै मेटियो।"

त्यस्तै, पुर्व शिक्षक नन्दराम भण्डारीले आफ्नै सुपुत्र लक्ष्मी भण्डारी (वर्तमान प्र.अ.) ले आफूले देखाएको शिक्षाको बाटोमा लागेर विद्यालय हाँकेको देख्दा गर्व महसुस भएको बताउनुभयो। उहाँले थप्नुभयो, "सुरुका दिन कठिन थिए, तर अबको चुनौती भनेको युवा पलायन रोक्ने शिक्षा दिनु हो।"

​पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद ज्ञवालीले एउटा रमाइलो किस्सा सुनाउँदै माहोललाई उल्लासमय बनाउनुभयो। "७ वर्षे नातिको अनुमति लिएर वार्षिकोत्सवमा आएको छु," उहाँले भन्नुभयो, "मजुवा टेक्दा मलाई कुनै बिरानो ठाउँ होइन, छोरिलाई आफ्नै माइती आएको जस्तो आभास मलाई पनि हुन्छ।" अर्का पुर्व शिक्षक घनश्याम न्यौपानेले विद्यार्थीको प्रगति नै गुरुको लागि सबैभन्दा ठूलो 'गुरुदक्षिणा' भएको बताउनुभयो भने दुर्गादत्त खरेलले समय अनुसार प्रविधिको प्रयोगमा जोड दिनुपर्ने औंल्याउनुभयो।

​"हामी जे छौं, ज्ञानोदयकै कारण छौं"
​कार्यक्रममा उच्च ओहोदामा पुगेका पूर्व विद्यार्थीहरूको बाक्लो र उत्साहजनक उपस्थिति थियो। उच्च अदालत कैलालीका न्यायाधीश युवराज गौतम, हेटौडा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरत गौतम, चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, डा. रामनाथ न्यौपाने, सुरेन्द्र भण्डारि, रमेश अर्याल भिम राना, गोकुल गैरे, चन्द्रकोट गाउपालिका सदस्य बिष्णु माया सापकोटा लगायतका वक्ताहरूले एकै स्वरमा भने— "हामी आज जुन स्थानमा छौं, त्यसको जग यही विद्यालय र हाम्रा गुरुहरू हुन्। विद्यालयको हितका लागि हामी जुनसुकै सहयोग गर्न तयार छौं।"

​कार्यक्रममा प्रदिप बस्नेत, थानेश्वर भण्डारी, इन्द्रमणी भण्डारी, रमेश बस्नेत, खिम बस्नेत, कालिका पाण्डे, लक्ष्मी भण्डारी, तुल्सी सापकोटा, पार्वती अर्याल, बाबू बस्नेत, झबिन्द्र अर्याल, प्रेमकला अर्याल सापकोटा र कमला रिजाल लगायतका पूर्व विद्यार्थीहरूले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा सधैं साथ दिने प्रतिबद्धता जनाउनुभयो।

49440-1768751723.jpg
समाजसेवी र शिक्षाप्रेमीहरूको योगदानको स्मरण
​कार्यक्रमको एक विशेष र गरिमामय क्षण तब बन्यो जब विद्यालयको विकासमा काँध थाप्ने आदरणीय समाजसेवीहरूको योगदानलाई स्मरण गरियो। विद्यालयलाई यो उचाइमा पुर्‍याउन विभिन्न कालखण्डमा अहोरात्र खट्ने समाजसेवी व्यक्तित्वहरू चन्द्रकान्त अर्याल, नरिश्वर भण्डारी, हरि गौतम, रामनाथ अर्याल र हिरा भण्डारी लगायतको शैक्षिक योगदानलाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो। उहाँहरू जस्ता निस्वार्थी मनहरू, पुर्व प्रधानाध्यापकज्युहरु, शिक्षक,कर्मचारी र विद्यार्थीको समर्पणले नै आज ज्ञानोदयले शैक्षिक क्षेत्रमा एउटा बलियो पहिचान बनाउन सफल भएको चर्चा कार्यक्रममा गरिएको थियो।

​सामाजिक उत्तरदायित्व र नयाँ कार्यसमिति
​प्रधानाध्यापक लक्ष्मी भण्डारीले विद्यालयको हालको अवस्था र उद्देश्यबारे प्रकाश पार्दै २०६५ सालको एसएलसी ब्याचले छात्रवृत्ति अक्षयकोष खडा गरेर उदाहरणीय काम गरेको जानकारी दिनुभयो। यसले अन्य ब्याचहरूलाई पनि विद्यालयप्रति उत्तरदायी हुन प्रेरणा दिएको छ।

पूर्व विद्यार्थी बाबुराम गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा 'पूर्व विद्यार्थी समाज'को नयाँ कार्यसमिति चयनका विषयमा पनि घनिभूत छलफल भएको थियो। अध्यक्ष गौतमका अनुसार नयाँ कार्यसमितिको औपचारिक घोषणा माघ ५ गते वार्षिकोत्सवको मूल समारोहमा गरिनेछ।
​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भण्डारी, शिक्षक, राजनीतिज्ञ, समाजसेवी र विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक यज्ञमूर्ति भण्डारीले गर्नुभएको थियो।

भोलि माघ ५ गते, मजुवाको आकाशमा हर्षबढाइँ हुनेछ, जहाँ गुरुहरू सम्मानित हुनेछन् र विद्यार्थीहरूले आफ्नो दोस्रो घर (विद्यालय) लाई अझै उचाइमा पुर्‍याउने सङ्कल्प गर्नेछन्।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update