बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले बिहिबार ‘स्पोर्टस मिट’ मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल र विद्यालयका प्राचार्य शंकर भण्डारीले विभिन्न खेलकुदका विधामा विजयी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र र ट्रफिले पुरस्कृत गरेका हुन् । विहान कक्षा ११ र १२ तथा दिउँसो कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले खेलकुद राष्ट्र र स्वास्थ्य दुवैका लागि आवश्यक भएको भन्दै विद्यार्थीहरुलाई कुनै एउटा खेलमा आफूलाई अभ्यस्त बनाउन आग्रह गरे । उनले विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न प्रतियोगिता गर्दै आइरहेको बताए ।
यस्तै विद्यालयका प्राचार्य शंकर भण्डारीले खेलकुदले विद्यार्थीहरुलाई समुदायसँग जोड्ने बताउँदै खेलकुदमा उत्कृष्ट भएका र सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरे ।
पुस २८, २९ र ३० गतेसम्म चलेको प्रतियोगिता अन्तर्गत कबडडी, फुटबल, भलिबल, क्रिक्रेट, एथेलेटिक्स विभिन्न विधाका खेलहरु सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका ८ सय विद्यार्थीहरुले स्पोट्स मिटमा सक्रिय सहभागी भएका थिए ।
साथै राष्ट्रपती रनिङ शिल्डमा सहभागी भई विजयी विद्यार्थीहरुलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । यस्तै शिक्षकहरुलाई समेत मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।
पुरस्कार वितरणमा सहप्राचार्य विष्णु प्रसाद न्यौपाने, प्लस टुतर्फका व्यवस्थापन संकाय संयोजक पवन बस्याल, विज्ञान संयोजक कमल गौतम, शिक्षक सुरेश घिमिरे, अतरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी, शिक्षकहरु विजय पराजुली, बिनितिा पंगेनी, पुष्पा केसी लगायतको उपस्थिती रहेको थियो ।


