Lumbini Rise
शारदा ज्ञवाली : जसको जीवन नै शिक्षामा समर्पित  

बुटवल - मान्छेका थरीथरीका रहर हुन्छन् । प्राय मान्छेहरुले आफ्नै रहरलाई प्राथमिकता पनि राख्छन् । हो, यिनै मान्छेको भिडमा फरक परिचय छ शारदा ज्ञवालीको । आजको लोकप्रियताबादी समाजमा ज्ञवालीलाई सबैले नचिन्न पनि सक्छन् । तर, बुटवलको कुनै बेला कर्णाली भनेर चिनिने बुटवल पश्चिममा भने ज्ञवालीलाई एक सफल शैक्षिक व्यक्तिका रुपमा चिन्दछन् ।

बिस २०४९ सालमा बुटवल तिनाउ पश्चिम संस्थागत विद्यालय स्थापना गरेर नयाँ इतिहास बनाएकी पात्र हुन् । बुटवल १२ नयागाउँमा न्यु स्ट्याण्डर्ड ईङ्गलिस बोडिङ्ग हाई स्कुलको संस्थापक ज्ञवालीले आफ्नो उर्जाशिल समय यहि विद्यालयमा बिताईन । 

बुटवलमा समेत भर्खर नीजि विद्यालय स्थापनाको लहर सुरु भएको बेला ज्ञवालीले भने नयाँगाउँ क्षेत्रमा विद्यालय स्थापना गर्ने अठोट गरेकी थिईन । त्यो बेला यो कदम चाल्नु आफैमा चुनौतीपूर्ण मात्रै थिएन, एउटा संघर्ष पनि थियो ।

‘त्यो बेला तिनाउ पश्चिममा बिद्यालयहरु निकै कम थिए विद्यार्थिहरुलाई पढ्नका लागी टाढा टाढा जानु पर्ने बाध्यता थियो’ ज्ञवाली विगत सम्झँदै भन्छिन् –‘तीनै टाढा टाढा पढ्न जानुपर्ने बालबालिकाहरुलाई राम्रो शिक्षा दिने उदेश्यले विद्यालय स्थापना गरिएको हो ।’  न्यू स्ट्याण्डर्ड बोर्डिङ स्कूलकको संस्थापक भएर आफ्नो सक्रिय उमेरसँगै आफ्नो जीवन नै समर्पण गरिन भन्दा पनि फरक पर्दैन । 

विद्यालय स्थापनाको कथा आफैमा रोचक छ । नीजि विद्यालय भन्ने वित्तिकै नाफा मात्रै कमाउने भाष्य छ । तर, विद्यालय खोल्दाका सुरुवाती दिन भने निकै संघर्षपूर्ण रहेको ज्ञवाली सम्झिन्छिन् ।

२०४९सालमा नयाँगाउ चोकमामा मेख बहादुर सापकोटाको घर भाडामा लिएर एउटा टेबल र दुईवटा कुर्चिबाट सुरुवात गरेको उनी सम्झिन्छन् । ‘जम्मा ४५ जना बिद्यार्थीहरुबाट कक्षा ५ सम्मको स्कुल सुरुवात गरेका थियौं’ उनले भनिन ‘अहिले कक्षा १० सम्म पढाई हुन्छ, तिनाउ पारी अभिभावक र विद्यार्थीको रोजाईमा परेको विद्यालय भन्दा गर्व लाग्छ ।’ 

आफ्नो जीवन समर्पण गरेको विद्यालयको प्रगति केवल समयसँग मात्रै छैन । त्यहाँबाट उत्पादित विद्यार्थीहरुको प्रगतिले अझ खुशी तुल्याउने गरेको उनले बताईन । विद्यालय ४ जनाको सयुक्त लगानीमा सुरुवात भएको थियो । तर पछि ज्ञवालीले एकल लगानीमा विद्यालय सञ्चालन गरेकी हुन् ।  

विद्यालयमा अध्ययन गरेका विद्यार्थिहरु पाईलट, डाक्टर, ईन्जिनिय , प्राध्यापक, नेपाल सरकारका अधिकृत शिक्षक, राजनितिज्ञ समेत बनेका छन् । ‘विद्यार्थीको प्रगती सुन्दा मन बडो आनन्दित हुन्छ’ उनले भनिन । 
ज्ञवालीको जन्म बिस २०२२ साल भदौ १० गते गुल्मी जिल्लाको सत्यवती गाउँपालिका  हंसरामा भएको हो ।

स्वर्गिय बुवा कोमलनाथ ज्ञवाली र आमा हेमादेवी ज्ञवालीको कोखबाट साईलो सन्तानको रुपमा उनको जन्म भएको थियो । साईलो सन्तानको रुपमा जन्मिएकी ज्ञवालीका ४ दिदि बैनी छन् भने एक जना भाई छन ।

गुल्मीमा जन्मिएपनि उनी बुटवल ४ बर्षकै उमेरमा आइन । उनको स–परिवार गुल्मीबाट बसाईसराई गरेर बुटवल मिलनचोक ज्ञवालिपथमा आएका थिए । बाल्यकालका सम्झनाहरु गुल्मीका भन्दा पनि बुटवलकै बढी छन । बुटवल आएपछि उनले कालिका माध्यमिक बिद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेकी हुन ।

उनको परिवारको बसाईसराई गुल्मीबाट बुटवल मिलनचोकमा मात्रै सिमित भएन । बुटवल मिलनचोकबाट समेत बसाईसराई गरी बुटवल १२ नयाँगाउमा पुग्यो । ज्ञवालीले बुटवल माध्यमिक बिद्यालयबाट कक्षा १० सम्मको शिक्षा आर्जन गरेकी हुन् भने बुटवल बहुमुखि क्याम्पस हुँदै भारतको बनारसबाट उच्च शिक्षा हासिल गरेकी छन् ।

सानैदेखि केही नयाँ काम गर्नुपर्छ भन्ने सोँच उनमा थियो । त्यो नयाँ काम उनले केवल आफूमा मात्रै सिमित नराखी सबैमाझ पुर्‍याउन चाहन्थिन् । अर्कोतर्फ पितृसत्तात्मक समाजसँगको हुर्काईमा पनि उनका विमतिहरु थिए । महिलाहरु चुलोचौकोमा मात्र सिमित हुन्छन् भन्ने मानसिकतालाई तोड्न चाहन्थीन् उनी । महिलाहरु पनि पुरुष सरह काम गर्न सक्छन्, संस्थाको लिड गर्न सक्छन भन्ने उदाहरण पेश गर्ने अठोट पनि थियो । त्यहि उदाहरणीय पात्र एउटा बोर्डिङ स्कूलबाट ज्ञवालीले स्थापित गरिन् ।

समाजका अनेकन प्रश्नहरुको विचबाट ज्ञवालीले विद्यालयलाई एउटा उचाईमा पुर्‍याएर महिलाहरुको नेतृत्व सफल हुन्छ भन्ने नमूना पेश गरेकी छन् । 
न्यु स्ट्याण्डर्ड ईङ्गलिस बोडिङ्ग हाई स्कुलको संस्थापक र  प्रिन्सिपलका रुपमा लामो समय बिताईसकिन् । ज्ञवालीका परिवारकी जेठी दिदि नेपाल सरकारको सह–सचिव भएर अहिले अवकाश(रिटायर्ड) भइसकेकी छन् भने माईली दिदि सरकारी स्कुलको शिक्षिकबाट । 

साईली शारदा  जो आफै पनि अब सक्रिय भूमिकाबाट अवकाश लिइसकेकी छन् । बैनी नेपाल प्रहरीको एसएसपि भएर अहिले रिटायर भई सकेकी छन् भने उनका भाई व्यवसाय गर्छन् । एक प्रकारले सबै आआफ्नो क्षेत्रमा जमेका छन् । 

शारदा ज्ञवाली शिक्षामा मात्रै सिमित छैनन् ।  बिभिन्न संघ सस्थामा पनि आबद्ध हँुदै सामाजिक कार्यमा पनि सक्रिय छन् । ज्ञवाली प्याप्सन रुपन्देहीको जिल्ला सदस्य हुँदै जिल्ला उपाध्यक्ष सम्म पुगेर काम गरेकी छन् भने प्याप्सन लुम्बिनी प्रदेश सदस्य हुँदै अहिले केन्द्रिय सदस्यको भूमिकामा छन् ।

उनी प्रेसो रुपन्देहीको जिल्ला सदस्य हुँदै अध्यक्ष भएर कार्यकला पुरा गरेकी थिईन । लायन्स क्लब अफ रुपन्देहीको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय उनी रोटरी क्लब अफ बुटवलको सदस्य समेत हुन्  ।

ज्ञवालिलाई देश विदेश भ्रमण गर्न निकै मन पर्छ । उनी भारत, संयुक्त राज्य इमिरेट्स (दुबइ) अस्ट्रेलिया, थाईल्याण्ड, चाईना, सिङ्गापुर, मलेसिया, ईन्डोनेसिया, भेयतनाम लगायतका देशहरुमा समेत भ्रमण गरेकी छन् ।

अब उनी शिक्षालयको जिम्मेवारीबाट अलग भइसकेकी छन् अब उनी देश बिदेशका विभिन्न ठाउँहरुमा भ्रमण गर्ने र समाजसेवा गर्ने योजनामा छन् । समग्रमा उनी भन्छिन् –‘कसैको कुभलो चिताइएन, अब सकेको सहयोग गर्न पाइयोस ।’ - खस्याैली साप्ताहिकबाट साभार । 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update