बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शनिबार एक कार्यक्रमका बीच तिलोत्तमा बाल सम्मेलन–२०८३ सम्पन्न भएको छ । नगर बाल सञ्जालका अध्यक्ष महिमा खनालको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले तिलोत्तमा नगरपालिका बालमैत्री सुशासन नगरपालिका भएको बताउँदै पालिकाले बालमैत्रीका लागि लगानी गरिरहेको बताए । खाणले बाल सम्मेलनले बालबालिकाहरुमा भएको क्षमता र आत्मविस्वास बढाउँने बताउँदै सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण काम गरिरहेको बताए ।
नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले बोल्दै बालबालिकाहरु वर्तमानका साझेदार भएको बताउँदै हरेक निकायमा सहकार्य र छलफल गरेर बालबालिकाहरुलाई कार्यक्रममा सहभागिता गराएको बताइन् । उनले तिलोत्तमा नगरपालिकामा बालमैत्री स्थानीय शासन घोषणा भएकोे बताउँदै उनीहरुको क्षमता अभिवृद्धि भएको बताइन् । त्यस्तैगरी तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले तिलोत्तमा नगरपालिकामा बालबालिकाको हक अधिकार र नेतृत्व क्षमता विकासमा अरुभन्दा अगाडि भएको बताए ।
कार्यक्रममा बालमैत्रीले चाहेको बालबालिकाको सेशनमा बोल्दै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले यस्ता कार्यक्रमले बालबालिकाहरुमा उत्तरदायित्व बढ्नुका साथै विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताए । उनले पालिकाले बालमैत्री क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको बताए ।
त्यस्तैगरी तिलोत्तमा नगरपालिकाका विपद व्यवस्थापन समिति संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्री, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनिप्रसाद शर्मा, कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमा नगरपालिकाका १ देखि १७ वटै वडाका वडा अध्यक्ष, नगर बालमैत्री समन्वयकर्ता सारदा घिमिरेलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ४ बूँदे घोषणापत्रसहित तिलोत्तमा बाल सम्मेलन सम्पन्न भएको छ । नगर बाल सञ्जालका सदस्य प्रेमनारायण पन्थीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नगर सचिव आकृति पाण्डेले गरेकी थिइन् ।

