Lumbini Rise
पहिलो पाइला बुटवलद्वारा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण सम्पन्न

बुटवल - पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले देशको विकास, समृद्धि र सामाजिक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।

युवामा रहेको प्रतिभा, क्षमता र सिर्जनशीलतालाई सही दिशा दिन यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। बोल्न, प्रस्तुत गर्न र नेतृत्व गर्न सक्ने युवाशक्ति नै समृद्ध समाज निर्माणको आधार हुने उनले उल्लेख गरिन्।

कार्यक्रममा प्रशिक्षक रमेश अर्याल, नेपाल जेसिजका अन्तर्राष्ट्रिय पूर्व उपाध्यक्ष अनुपमान सैंजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा रेडियो जागरणका स्टेशन प्रमुख विनोद परियार र बुटवल टुडेका पूर्व उपसम्पादक कृष्ण खनालले सहजीकरण गरेका थिए। उनीहरूले उद्घोषण कला, रेडियो तथा टेलिभिजन प्रस्तुति, सञ्चार सीप र लेखन शैलीका विविध पक्षबारे प्रशिक्षण दिएका थिए।

वक्ताहरूले प्रभावकारी सञ्चारका लागि आत्मविश्वास, शुद्ध भाषा प्रयोग, प्रस्तुतीकरण शैली र निरन्तर अभ्यास अपरिहार्य रहेको बताए। सञ्चार क्षेत्र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले युवाहरूलाई यस क्षेत्रमा सक्रिय सहभागिता जनाउन पनि आग्रह गरिएको थियो।

कार्यक्रममा करिब ६० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार बोल्न, लेख्न र प्रभावकारी रूपमा आफ्ना विचार प्रस्तुत गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी सार्वजनिक रूपमा बोल्न हिच्किचाउने व्यक्तिहरूलाई आत्मविश्वासका साथ मञ्चमा प्रस्तुत हुन सक्षम बनाउने अभियानको लक्ष्य रहेको बताइएको छ।

कार्यक्रममा संस्थाका सल्लाहकार जीवन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने वरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद खनालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सहसचिव रक्षा न्यौपानेले गरेकी थिइन्।

पहिलो पाइला नेपालले आगामी दिनमा पनि युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सञ्चार सीप विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update