Lumbini Rise
दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियाे

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार र बौद्ध विश्व विद्यालयको आयोजनामा विहिबार र शुक्रबार दुई दिन बौद्ध सम्मेलन गरिएको हो ।  लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरू अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्दै छलफल गरेका छन् । 

लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा दिगो पर्यटन विकासका सम्भावनाबारे सम्मेलनमा गहन छलफल भएको आयोजकले जनाएका छन् । 

छलफलअघिको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वको साझा सभ्यता र शान्तिको केन्द्र भएकाले यसको संरक्षण, प्रवर्द्धन र दिगो विकासमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले बौद्ध सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीको पहिचान विश्व समुदायमाझ अझ सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“लुम्बिनीमा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै तिनको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न प्रदेश सरकार प्रतिबद्ध छ,” मन्त्री न्यौपानेले भने, “दिगो पर्यटनको विकासमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने गरी योजना अघि बढाइनेछ ।”

सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डा। नरेशमान बज्राचार्यले लुम्बिनी केवल बुद्धको जन्मस्थल मात्र नभई मानव सभ्यताका लागि शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश बोकेको पवित्र भूमि भएको बताए । उनले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्वलाई अनुसन्धान, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारप्रसारमार्फत भावी पुस्तासम्म सुरक्षित रूपमा पुर्‍याउन सरकार, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय समुदायबिच थप सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा.माणिकरत्न शाक्यले लुम्बिनी र आसपासका ऐतिहासिक तथा पुरातात्त्विक बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु सम्मेलनको मुख्य लक्ष्य रहेको बताए ।

उनले संरक्षणको अभाव, पर्याप्त अध्ययन तथा उत्खनन हुन नसक्दा धेरै महत्त्वपूर्ण बौद्ध सम्पदा अझै ओझेलमा परेको उल्लेख गर्दै ती सम्पदाको खोज, संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । उनले भने “ओझेलमा परेका ऐतिहासिक तथा पुरातात्त्विक बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउनु र ती क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्नु आजको आवश्यकता हो ।” सम्मेलनले लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगो पर्यटन विकासका लागि नीतिगत र व्यावहारिक सुझावसहित दीर्घकालीन मार्गचित्र तयार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता, प्रदेश सरकारका सचिवहरू, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, पर्यटन व्यवसायी, विभिन्न देशका भिक्षु, सम्पदा विज्ञ, अनुसन्धानकर्ता र सामाजिक अगुवाको सहभागिता रहेको छ ।

विभिन्न क्षेत्रका विज्ञहरुले प्रस्तुत गरेको कार्यपत्र अध्ययनका लागि विश्वविद्यालयसहित विभिन्न क्षेत्रमा राखिने बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले बताए । उनका अनुसार सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update