बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुर क्षेत्रबाट करिब ४८ हजार मूल्य बराबरका १६० थान दरी कपडा बरामद गरेको जनाएको छ।
यस्तै सिद्धार्थनगर नगरपालिका–१, बेलहिया–कोटहिमाई क्षेत्रबाट करिब ६८ हजार ५५० मूल्य बराबरका २६ थान लेडिज सुट, १ थान लेडिज टप्स तथा विभिन्न किसिमका किराना सामग्री बरामद गरिएको सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–८, बुद्धचोक बाट करिब ५० हजार मूल्य बराबरका ५० थान डी।सी। मोटर्स पार्ट्स नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी ओमसतिया गाउँपालिका–३, हाटीफर्साटिकर क्षेत्रबाट लु १२ प ३६२० र लु २१ प २१२० नम्बरका मोटरसाइकलसहित करिब १ लाख ६ हजार ७०० मूल्य बराबरका विभिन्न प्रकारका तरकारी बरामद गरिएको छ।
बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


