काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।
देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत् छ । त्यस्तै अनिश्चितकालाीन कर्फ्यु हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार आज बिहानदेखि शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय गरिने पनि उहाँको भनाइ छ ।
हरिनगरा, देवानगञ्ज, कप्तानगञ्ज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको हो । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरुबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।


