बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका लागि केन्द्रीय पदाधिकारीहरु बुटवलमा आइपुगेका छन् ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै महासंघको साधरणसाको तयारी पूरा भएको जनाएका छन् । साधारणसभामा व्यवसायिक हकहित, सुनको माग र आपूर्ती, कारीगढको सिप विकास र स्वदेशमै टिकाउने बिषयमा समेत गहन छलफल हुने अध्यक्ष अर्जुन रसाईलीले बताए ।
उनका अनुसार राज्यले अहिले सिप प्रवद्र्धनका नाममा कर लिएको बताउँदै सकेसम्म उपभोक्तालाई मार नपर्ने नीतिका पक्षमा लविङ गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ उपाध्यक्ष दिपेशरत्न शाक्यले सुनचाँदी व्यवसाय नेपाली संस्कृतीसँग सम्बन्धित रहेकाले यस व्यवसायको हितका लागि महासंघले निरन्तर काम गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष धर्मसुन्दर ब्रजाचार्य, प्रवक्ता जीवनज्योती सदाशंकर, महासचिव किरणभाई बज्रचार्यले बोलेका थिए । वार्षिक साधारण सभाको औपचारिक उद्घाटन निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था एवं देश भरका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यको प्रमूख आतिथ्यता हुनेछ ।
साधरणसभाको उद्घाटनसत्रमा मन्त्री, प्रदेसशभा सदस्य, नेपाल सरकारका सचिव, विभिन्न सरकारी निकायका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमूखहरुको सहभागिता रहने केन्द्रीय सदस्य दीपक विश्वकर्माले जानकारी दिए ।
उद्घाटन सत्रको समापन पश्चात बन्द सत्र सञ्चालन हुनेछ । त्यसक्रममां अध्यक्ष, महासचिव र कोषाध्यक्ष बार्षिक तथा आर्थिक प्रतिवेदन, लेखा परीक्षक नियुक्ती सहित समसामयिक एजेण्डामा छलफल हुनेछ ।
साथै साधारण सभा समापनका अवसरमा सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्देश्यका साथ विभिन्न एजेण्डाहरुलाई समेटेर वुटवल घोषणा पत्र सार्वजनिक गरिने जनाइएको छ ।

