बुटवल -ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल बुटवल–११, नहरपुरमा पाँचदिने ‘असल अभिभावकत्व कार्यशाला' शुभारम्भ भएको छ ।
विद्यालयले अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै बालबालिकाको समग्र व्यक्तित्व विकासमा सकारात्मक अभिभावकीय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला सुरू गरिएकाे विद्यालयले जनाएकाे छ ।
साेमबारदेखि सुरू भएकाे कार्यक्रममा आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
पहिलो र दोस्राे दिनमा पीजी र नर्सरी साथै एलकेजी र यूकेजी तहका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठले प्रशिक्षण दिएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य शंकर भण्डारीले असल अभिभावकत्व नै असल शिक्षाको पहिलो आधार भएकाले विद्यालय र अभिभावकबीचको सहकार्यका लागस असल अभिभाकत्व कार्यशाला गरिएकाे बताए ।
उनले पारस्परिक विश्वास र साझा जिम्मेवारीमार्फत सक्षम, जिम्मेवार, अनुशासित, नैतिक तथा राष्ट्रप्रति उत्तरदायी नागरिक निर्माण गर्न सकिने बताए। उनले ज्ञान र अनुभवलाई व्यवहारमा रूपान्तरण गर्न सके यसको वास्तविक उपलब्धि सुनिश्चित हुने बताए ।
उनले अभिभावकहरूलाई कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई दैनिक व्यवहारमा उतार्दै बालबालिकाको सर्वाङ्गीण विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। विद्यालयका सह–प्राचार्य भीम बस्नेतले सञ्चालन गरेकाे कार्यक्रममा पूर्वप्राथमिक तह संयोजक सबिना बराल काफ्ले तथा सम्बन्धित कक्षाका शिक्षक–शिक्षिकाको पनि उपस्थिति रहेको थियो ।
विद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार कार्यशाला साउन १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको तेस्रो दिन साउन २० गते (बुधबार) कक्षा १ र २, चौथो दिन साउन २१ गते (बिहीबार) कक्षा ३, ४ र ५ तथा अन्तिम दिन साउन श्रावण २४ गते आइतबार कक्षा ६ देखि १० सम्मका अभिभावकहरूका लागि प्रशिक्षण सञ्चालन गरिनेछ।
कार्यशालामार्फत अभिभावक र विद्यालयबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउँदै बालबालिकाको शैक्षिक उपलब्धि, अनुशासन, सकारात्मक सोच, जीवन सीप तथा समग्र व्यक्तित्व विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएकाे छ ।


