बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।
विद्यार्थीहरूले जीवनमा सफल हुन के–कस्ता कुरामा ध्यान दिनुपर्छ, लक्ष्य कसरी निर्धारण गर्ने, लक्ष्य प्राप्तिका लागि कस्तो मेहनत आवश्यक हुन्छ, अध्ययनका क्रममा आउने चुनौतीलाई कसरी सामना गर्ने र आफूले चाहेको क्षेत्रमा सफल हुन के गर्नुपर्छ भन्नेलगायतका प्रश्न डा. पाठकसमक्ष राखेका थिए।
विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै डा. पाठकले सफलता एकैपटक प्राप्त नहुने भन्दै निरन्तर मेहनत, अनुशासन, धैर्य र आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताए। उनले विद्यार्थी जीवनमै स्पष्ट लक्ष्य बनाएर त्यसलाई प्राप्त गर्न नियमित अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए।
आफ्नो अनुभवसमेत विद्यार्थीमाझ सुनाउँदै डा. पाठकले जीवनमा आउने कठिनाइ र असफलतालाई सिकाइका रूपमा लिनुपर्ने बताए। उनले आफूले भोगेका संघर्ष तथा चुनौतीबाट सिक्दै अगाडि बढ्न सके सफलताको बाटो खुल्ने धारणा राखे।
कार्यक्रममा बोल्दै ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल शंकर भण्डारीले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी विभिन्न क्षेत्रका सफल व्यक्तित्वसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘गेष्ट अफ द मन्थ’ कार्यक्रम सञ्चालन गरिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो लक्ष्य पहिचान गर्न र भविष्यका लागि प्रेरणा लिन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा विद्यार्थीले डा. पाठकको व्यक्तिगत अनुभव, चिकित्सकीय यात्रा तथा सफलताका विषयमा जिज्ञासा राख्दै अन्तरसंवाद गरेका थिए। पाठकले जुनसुकै बिषयबाट भविष्यमा सफलता हासिल गर्न सकिने बताए । पत्रकार विनोद परियारले सहजीकरण गरेको संवाद कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । यसअघि ज्ञानपुञ्जले असारमा लेखक खगेन्द्र संग्रौलालाई गेष्ट अफ दी मन्थका रुपमा आमन्त्रण गरेको थियो । कार्यक्रमको सुरुवात विद्यालयका सहप्राचार्य भिम बस्नेतले गरेका थिए ।
पछिल्लो समय ज्ञानपुञ्जले रचनात्मक कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।


