बुटवल- रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा रहेको नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रका स्थानीय पुन आफ्नै निवासतर्फ र्फकन थालेका छन् ।
नरायणी नदीमा पानीको सतह बढेपछि प्रशासनले सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको थियो । बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो ।
बिहीबार बिहान ४ बजेदेखि नारायणी नदीको पानीको सतह पुरानै अवस्थामा रहेको र ठुलो बाढीको जोखिम नदेखिएपछि स्थानीय घर फर्किन थालेको बताइएको छ । सुस्ता गाउँपालिका–५ का वडा सदस्य एवं सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले स्थानीयहरू बिहानैदेखि पारी सुस्तास्थित आफ्ना घर फर्किन थालेको बताए ।
सुस्ताको थारू टोलका सात घरमा सामान्य पानी पसे पनि कुनै क्षति भने भएको छैन । करिब ४ सयभन्दा बढी स्थानीयलाई विद्यालयमा राखेर खानासमेत खुवाइएको उनले बताए ।
नारायणी नदीको पानीको सतह क्रमशः घट्दै गएको र गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएपछि सुस्तामा तत्काल ठुलो समस्या नदेखिएको हो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पनि चितवनतर्फबाट नारायणी नदीमा आएको पानी तलतिर फैलिँदै जाँदा सुस्तासम्म आइपुग्दा बहाव केही कम भएकाले पूर्वानुमान गरेजस्तो अवस्था नभएको बताए । तर, उनले आफूहरु सर्तक अवस्थामा रहेको जानकारी दिए ।

