बुटवल - बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो ।
मुलुकमा आएको महाविपत्तीमा शिक्षालयको तर्फदेखि केही भएपनि राहत मिलोस् भनेर विद्यालय परिवारबाट छ लाख एक हजार सहयोग गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए ।
यस दुःखद् घडीमा विद्यालय व्यवस्थापन समितिलगायत सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग, सद्भाव र सहानुभूतिसहित उक्त रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको प्राचार्य न्यौपानेले जानकारी दिए । उनका अनुसार विद्यालयको आफ्नै कोषबाट, शिक्षक कर्मचारीबाट र पूर्व प्राथमिक तहदेखि मावि तहका विद्यार्थीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको रकम राहत कोषमा जम्मा गरिएको छ ।
संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन) को केन्द्रीय सर्कुलर अनुसार प्याब्सनमार्फत नै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरिएको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका प्राचार्य न्यौपानेले जानकारी दिए ।
यस विपत्तिमा परी जीवन गुमाउनुभएका दिवंगत आत्माहरूप्रति विद्यालय परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घर परिवार गुमाएका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभ, सुरक्षित जीवनको कामना विद्यालय परिवारले गरेको प्राचार्य न्यौपानेले जानकारी दिए।


