बुटवल — ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलले कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा ‘बा मलाई केही भन्नु छ’ शिर्षकमा शुक्रबार कविता प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका १० जना प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको छ ।
कविता प्रतियोगिताबाट कक्षा ७ ‘लोटस’की सिम्रन भण्डारी प्रथम, कक्षा ९ ‘रोज’का सार्थक न्यौपाने द्वितीय तथा कक्षा ६ ‘रोज’की रोशनी न्यौपानेले तृतीय स्थान प्राप्त गरे । प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूले क्रमशः पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरी सम्मानित भएका छन् ।
प्रतियोगिताको निर्णायकका रूपमा साहित्यकार गोविन्द बस्यालले भूमिका निर्वाह गरेका थिए । प्रतियोगी विद्यार्थीहरूको प्रस्तुतिलाई विषयवस्तु तथा सन्देश, मौलिकता तथा सिर्जनशीलता, भाषा तथा शब्दचयन, भाव–लय तथा उच्चारण, प्रस्तुति तथा प्रभावकारिता लगायतका निर्धारित मापदण्डका आधारमा निष्पक्ष एवं वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको सांस्कृतिक, सामाजिक एवं भावनात्मक महत्त्वमाथि प्रकाश पार्दै परिवार तथा समाज निर्माणमा बुबाले निर्वाह गर्ने त्याग, संघर्ष, जिम्मेवारी, संरक्षण तथा मार्गदर्शक भूमिकाको चर्चा गरे ।
उनले बुबाप्रति सम्मान, कृतज्ञता र आत्मीयता अभिव्यक्त गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा पारिवारिक संस्कार, संवेदनशीलता तथा साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरे । कविता मार्फत विद्यार्थीहरुले बुबाको योगदान, संघर्ष, स्नेह र समर्पणप्रति सम्मान प्रकट गर्दै नयाँ पुस्तामा पारिवारिक मूल्य, संस्कार तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रमको सञ्चालन ईसीए इन्चार्ज हरि भट्टराईले गरेका थिए । कार्यक्रममा सह–प्राचार्य भीम बस्नेत, शैक्षिक प्रमुख घनश्याम पन्थी, शिक्षक–कर्मचारीहरू तथा प्रतियोगी विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूमा अन्तर्निहित सिर्जनात्मक प्रतिभा, साहित्यिक अभिरुचि, अभिव्यक्ति–कौशल तथा मञ्चीय आत्मविश्वासलाई उजागर गर्दै कुशे औँसीको भावनालाई साहित्यिक सिर्जनासँग जोड्ने सार्थक अवसर प्रदान गरेको छ ।


