Lumbini Rise
पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा

बुटवल - केही महिनादेखि धुवाँको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोली मंगलबार पूर्वी नवलपरासी आइपुगेको छ ।

खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ । हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट धुवाँ निस्किरहेको स्थानमा बुधबार पुगेर अध्ययन गर्ने तयारीस्वरूप टोलीले मंगलबार प्रारम्भिक छलफल गरेको हो ।

लुँइटेलको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका प्रतिनिधि, धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्राविधिक तथा विज्ञ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्रतिनिधिसहितको टोली मंगलबार साँझ पूर्वी नवलपरासी आइपुगेको हो । टोलीका नेता लुँइटेलले बुधबार धुवाँ निस्किएको स्थानमा पुगेर अध्ययन गर्ने बताए । खानी तथा भूगर्भ विभागले टोलीलाई ४ असोजसम्म काजमा खटाएको पत्र जिल्ला प्रशासन कार्यालयमा पठाएको छ ।

पहाडको बीचबाट गन्धसमेत आउने गरी धुवाँको मुस्लो निस्किरहेको स्थानमा गन्धक रहेको हुन सक्ने बाँस्कोटाको अनुमान छ । उनका अनुसार ११ वर्षअघिको भूकम्पीय दरारका कारण भूभागमा चिरा परेर धुवाँ निस्किएको हुन सक्छ । त्यहाँ कोइलाखानीको अंश पनि हुन सक्ने उनको अनुमान छ । 'विज्ञहरूको टोलीले अध्ययन गरिसकेपछि त्यहाँबाट निस्किरहेको धुवाँ के हो भन्ने यकिन हुन्छ,' बाँस्कोटाले भने ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार त्यहाँ धेरै दशकअघिदेखि नै धुवाँ निस्कने गरेको छ । पछिल्लो समय धुवाँ निस्कने क्रम बढेपछि विज्ञहरूको टोली पठाउन उनले विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनको मन्त्रालयमा लिखित रूपमा अनुरोध गरेकी थिइन् । उनका अनुसार मन्त्री पुनले पनि टेलिफोनमा विज्ञहरूको टोली पठाउने बताएका थिए ।

स्थानीयका अनुसार त्यहाँ २०१२ सालदेखि नै धुवाँ निस्कने गरेको सुनिँदै आएको छ । केही सातायता धुवाँ बाक्लिँदै गएपछि पेलेगा गाउँ फेरि चर्चामा आएको हो । स्थानीयका अनुसार धुवाँ कहिले एक ठाउँबाट त कहिले अर्को ठाउँबाट निस्कने गरेको छ । स्थान परिवर्तन गर्दै धुवाँ निस्कने गरेको उनीहरूको भनाइ छ ।

यसैबीच पूर्वी नवलपरासीका सांसद राजन गौतम र मनिष खनालले सोमबार खानी तथा भूगर्भ विभागमा पुगेर विज्ञहरूको टोली चाँडो पठाउन ताकेता गरेका थिए । सांसद गौतमका अनुसार मानव बस्ती नजिकै धुवाँ निस्किरहेको र त्यसको कारणबारे चाँडो अनुसन्धान आवश्यक भएकाले ताकेता गरेपछि विज्ञहरूको टोली हुप्सेकोट पठाइएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update