अर्घाखाँची - नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।
परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय तहसम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
केसीले युवालाई पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताएका छन्। उनले युवाका समस्या, रोजगारी, शिक्षा, उद्यमशीलता तथा अवसरका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
त्यस्तै, पार्टी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र जनमुखी बनाउन सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ। अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै संगठनलाई थप बलियो बनाउने उनको भनाइ छ।'मत माग्न मात्र होइन, विश्वासलाई जिम्मेवारीमा बदल्ने प्रतिबद्धता लिएर आएको छु’ केसीले प्रतिवद्वतामा भनेका छन् ।
उनले आफ्नो उम्मेदवारीमार्फत युवालाई अवसर र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने सन्देश अघि सारेका छन्।

