Lumbini Rise
तिनाउले बुटवल टपमझुवाका ५ घरमा क्षती, २ घर पूर्णरुपमा बग्याे

बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवाकाे २ घर बगाएकाे छ भने ३  घरमा क्षती पुर्याएकाे छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।

राति करिब १२ बजेदेखि १ बजेकाे समयमा आएको बाढीले सकिल मिया, नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बनियाको घर बगाएको हो। बाढीले दुईवटा खाली घडेरीसमेत कटान गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ९ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

तिनाउ नदीको जलसतह अझै उच्च रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

हाल नदीको जलसतह उच्च अवस्थामै रहेको छ भने नदी किनारका स्थानीयले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका छन्।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update