
बुटवल– बुटवलको कालिकानगर स्थित बुटवल मण्डी प्राली भित्र ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली जुत्ता घरको मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवल भित्रका व्यवसायलाई दीगो र व्यवस्थित बनाउन उपमहानगरपालिकाले अग्रसरता लिएको बताए । उनले सटर तथा घरधनीहरुसँग सहकार्य गरी व्यवसायीहरुलाई मर्का नपर्ने र व्यापार दीगो हुने वातावरण तयार पार्नुपर्नेमा जोड दिए । नगर प्रमुख पाण्डेले स्वदेशमै रहेर व्यवसायमा होमिएका युवाहरुको प्रयास सर्हानिय रहेको भन्दै धैर्य र लगनशीलता कायम राख्न आग्रह गरेका थिए।
कार्यक्रममा फूटवयर एसोसिएसन नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली जुत्ता उद्योग र बजारलाई संरक्षण गर्न भन्सार छली रोक्नुपर्ने आवश्यकता औँल्याए । नेपालमा वार्षिक करिब १५ करोड जोर जुत्ता र चप्पलको खपत हुने बजार रहेकामा त्यसको आधा हिस्सा मात्र नेपाली उत्पादनले ओगटेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले झन्डै २ करोड जुत्ता(चप्पल अवैध रूपमा भित्रिने गरेकाले स्वदेशी उद्योगलाई असर पारिरहेको बताए ।
कार्यक्रममा बुटवल मण्डीका सञ्चालक एवम नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न कोइरालाले नेपाली जुत्ता घर बुटवलले छोटो समयमै स्थानियको रोजाइमा परेको बताए । उनले जुता घरले राम्रो गर्दागर्दैपनी आगोलागीका कारण समस्यामा परेको र पुनस् नयाँँ व्यवस्थापना सहित सञ्चालनमा ल्याउन सफल युवा व्यवसायीलाई सफलअताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जुता उत्पादक संघ नेपालका उपाध्यक्ष सुरज बञ्जाडे लगायत बोलेका थिए ।
नेपाली जुत्ता घरमा स्थानीय युवा व्यवसायी अभिषेक पाण्डे , दामोदर न्यौपाने र अर्जुन खनालको संयुक्त लगानी रहेको छ । सञ्चालक अभिषेक पाण्डेका अनुसार करिब ३ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस बिक्री केन्द्रबाट शिखर, रन लगायत ९ वटा नेपाली जुत्ता ब्राण्डको विक्री सुरु गरिएको छ ।