बुटवल - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका लागि निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले यस क्षेत्रका निर्माण पूरा हुन नसकेका विकास योजनाहरु मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, औद्योगिक प्रदर्शनी स्थल लगायतलाई चाँडो सक्न सरकारको ध्यानआर्कषण गराएको बताईन् ।
यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई व्यापारिक हवका रुपमा विकास गर्न स्थानीय सरकारको तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन् । यस्तै कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले भारतीय खुल्ला सिमा, कर तथा राजस्व र लगानी सुरक्षाको बिषयमा सरकारलाई ४२ बुँदे सुझाव दिएको बताए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरीप्रसाद अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा नयाँ र पुरानो पुस्ता जोडेर संस्थागत विकासको काम गरेको बताए । उनले उद्योगी, व्यवसायी, विज्ञहरुसँग छलफल गरी राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका कामहरु गरेको बताए । यसका साथै बुटवल उपमहानगरसँग जोडिएका बिषयमा समेत संघका तर्फबाट असल नियतले कामहरु गरेको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, बस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारीणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जिवि सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, महासचिव मुक्ति प्रसाद अधिकारी लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
साधरणसभाका अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्यमचन्द्र श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । उक्त शालिक महासंघका अध्यक्ष श्रेष्ठले अनावरण गरेका हुन् । त्यसैगरी संघले २०४१ सालमा पहिलो पटक प्रकाशन गरेको स्मारिका पुन मुद्रण तथा हाम्रो बुटवल स्मारिका २०८३ को विमोचन समेत गरेको छ । साथै शुक्रबारदेखि नयाँ नेतृत्वका लागि निर्वाचन समेत सुरु भएकाे छ ।
५ जना उद्योगी सम्मानित
यसैगरी संघले विधागत रुपमा ५ जना उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको छ । संघले उद्योगतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्ण प्रसाद पौडेल, उत्कृष्ट व्यवसायी बाणिज्य तर्फ हैण्डलुम इन्टरप्राईजेजका अजहरुल हसैन, कृषितर्फ शाह ब्रदर्श मल्टिप्रपोज प्रालिका नुरुद्धिन शाह, महिला तर्फ सिद्धार्थ डेरी उद्योगकी गिता भट्टराई र सेवा क्षेत्रबाट महिमा टुर्स एण्ड ट्रावल्स प्रालिका अनिलमान श्रेष्ठलाई सम्मान गरेको छ ।

