
भैरहवा – रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो।
राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा प्रतियोगिता हुने जनाएका छन् ।
प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए। भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन् । त्यसैले प्रतियोगिताको नाम ‘लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ राखिएको छ।
नेपाल क्रिकेट संघको कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टिम सहभागी हुनेछन्। पराजुलीका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । प्रतियोगिताले प्रदेशस्तरीय बलियो टिम छनोटमा सहयोग पुग्ने जनाइएको छ।
प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गरी एउटा टिम बनाइने बताए। उनले तल्लो तहका यस्ता प्रतियोगिताले भोलिका दिनमा राष्ट्रिय टिममा राम्रो खेलाडीहरु पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संघले प्रतियोगिता सफल पार्न सबै किसिमको तयारी गरेको जनाए।उनका अनुसार छनोट खेल भएकाले प्रतियोगिताका विजेता टिमलाई ट्रफी र मेडल मात्रै पुरस्कार राखिएको छ। तर, प्रत्यके खेलमा म्यान अफ द म्याचलाई भने एक हजार रुपैयाँ प्रदान गरिने उनले बताए। ३५ ओभरमा खेलाइने उक्त प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन्।