
दाङ (देउखुरी उपत्यका) - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।
सामुदायिक वन उपभोक्ता महासंघमा आबद्ध सदस्यहरू आन्दोलनको नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै मुख्यमन्त्री आचार्यले सरकार उपभोक्ताको हकहित सुरक्षित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘कुनै व्यक्ति विशेषको चाहना र आवरणमा उद्वेलित बन्ने होइन । भावनामा बग्न जरुरी छैन । वार्ताबाट समाधान निस्कन्छ । समस्याको चुरो समातेर समाधान निकाल्ने प्रयास भइरहेको छ। समस्या तपाईँ हामीले समाधान गर्ने हो । सरकार सामुदायिक वन उपभोक्ताहरूको मागको बारेमा गम्भीर छ’ उनले भने।
व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बिचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा पनि मुख्यमन्त्री आचार्यले व्यक्त गरे। लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता महासंघले उठाएका मागहरूको बारेमा वार्ताबाट निकास निकाल्न निरन्तर छलफल गर्दै आएको उनले बताए ।
यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सङ्घीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समूहलाई मर्ज गर्न नहुने बताए । उनले वनलाई पैसा सँग मात्र तुलना नगर्न आग्रह गर्दै वन संस्कृति, परम्परा, मूल्यमान्यता, संस्कार र वातावरण रहेको बताए ।
उनले वनलाई पैसा सँग मात्र तुलना गर्नु नेपालका लागि सबै भन्दा ठुलो दुर्भाग्य भएको बताए । सङ्घीय अध्यक्ष भण्डारीले वन विश्व कै सबै भन्दा ठुलो सम्पत्ति भएकोले वनलाई पैसा सँग मात्र तुलना गर्नु सबै भन्दा ठुलो भूल भएको बताए ।
अध्यक्ष भण्डारीले सामुदायिक वन समूहको कार्य योजना बनाउने विषयलाई सहज र सरल बनाउन आग्रह गरे । उनले कार्य योजना बनाउने नाममा वन कार्यालयले वन समूहहरूलाई दुख दिन नहुने तर्क गरे ।
सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश महासंघकालाई विभिन्न समयमा अमूल्य सहयोग गर्ने तीन ३६ भन्दा बढी सङ्घसंस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईको सवागत मन्तव्यबाट सुरु भएको परिषद् उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठक, लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारी, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद घिमिरे, वन महासंघका सङ्घीय अध्यक्ष मोहम्मद कर खाँ, महासंघ कै सङ्घीय सचिव डिल्ली गिरी, महासंघको सङ्घीय न्यायिक समिति संयोजक रिता घिमिरे, महासंघका पूर्व सङ्घीय अध्यक्ष घनश्याम पाण्डे, महासंघ पूर्व उपाध्यक्ष भीम खड्का, प्रदेश महासंघका संस्थापक महासचिव राम मल्ल ठकुरी, सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, वन महासंघ बाँकेका अध्यक्ष साबित्रा पुन, स्थानीय वन महासंघ तानसेन नगर अध्यक्ष भवानी गौतम र स्थानीय वन महासंघ बा गढी बर्दिया टेकराज तिम्सिना लगायतले बोलेका थिए।
कार्यक्रममा महासंघका महासचिव शोभाकर सापकोटाले साङ्गठनिक तथा नीति कार्यक्रम सहितको प्रतिवेदन तथा महासंघका प्रदेश सदस्य यमबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ज्येष्ठ १० गते सम्म चल्ने परिषदमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला र १ सय ९ वटा स्थानीय वन महासंघका गरी २ सय ३० जना प्रतिनिधि तथा परिवेक्षक सहभागिता रहेको छ ।
शुक्रवार बेलुका बाटै चल्ने बन्द सत्रमा महासंघको साङ्गठनिक र आर्थिक प्रतिवेदनमा छलफल गर्ने र आगामी वर्षको नयाँ नीति तथा कार्यक्रम तय गर्ने महासचिव शोभाकर सापकोटाले बताए ।