
बुटवल – आज देशका विभिन्न भागमा चट्याङ सहित वर्षा हुने भएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।
बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।
आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।