Lumbini Rise
ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी : कृष्ण पहाडी 

बुटवल - मानवअधिकारवादी नेता कृष्ण पहाडीले ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी रहेको बताएका छन् ।  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिवार बुटवलमा गरेको नागरिक आकाक्षां, नागरिक स्वतन्त्रता र सर्वोच्चता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पहाडीले ज्ञानेन्द्रले पछिल्लो समय त्यही षडयन्त्र गरिरहेको बताएका हुन् । 

उनले गत चैत १५ गते पूर्व राजा ज्ञानेन्द्र शाहकै योजनामा २०/२५ हजार जम्मा गरेर संवेदनशील क्षेत्र कब्जा गरेर नागरिकले विद्रोह गरेको वाहना गरेर सेना मार्फत कब्जा गर्ने रणनीतिमा रहेको बताए ।

'जबकि सैनिक कु को बारेमा चर्चा गरिँदैन, किनभने त्यो अप्रिय कुरा हुन्छ' पहाडीले भने –'प्रवक्ताको स्टेटमेन्टमा राष्ट्रपतीयलाई गिरफ्तार गर्नुपर्छ, प्रधानमन्त्रीलाई गिरफ्तार गर्नुपर्छ भनिएको छ, यो भनेको सेनालाई उचालेको हो।' उनले राजावादीहरूले त्यसरी सेनालाई उचाल्ने काम राज्यविरुद्धको अपराध भएको बताए ।

उनले ज्ञानेन्द्र शाह सेनाको सर्वोच्चता स्थापित गरी नागरिकको स्वामित्वमा स्थापित लोकतान्त्रिक गणतन्त्र मास्ने षडयन्त्रमा लागेको बताए । उनले संविधानमा नागरिक सर्वोच्चतालाई स्थापित गरेको बताउँदै सेनाको सर्वोच्चता स्वीकार्य नहुने बताए ।

उनले ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताको कुरा गरेको तर्फ संकेत गर्दै सेनालाई मिडिया हाउसमा मेजर पठाएको कालो दिन नबिर्सिएको बताए। '१७ साल भाग ३ मञ्चन गर्ने प्रयत्न भइरहेको छ' पहाडीले भने –'अब प्रमुख राजनीतिक दलले आफूलाई सुधार गरेर जानुपर्छ।' उनले २०७२ को संविधानका सवालमा संशोधनको आवश्यकता रहे पनि नागरिकको स्वामित्वमा ल्याएको गणतन्त्र बलियो बनाउन प्रमुख दलहरू एकजुट हुन आवश्यक रहेको बताए ।

shanti-samaj-1748094065.JPG


नागरिक आन्दोलनका अगुवा समेत रहेका पहाडीले नयाँ अनुहार सहित सर्वदलीय सरकार बनाउनुपर्ने बताए । उनले सुशासनलाई एजेन्डा बनाएर सर्वदलीय सरकार बनाउने र त्यही सर्वदलीय संयन्त्रले संविधान संशोधन गरेर जानुपर्ने प्रस्ताव गरे । 'लोकतान्त्रिक गणतन्त्र प्राण हो, नागरिक सर्वोच्चता शिरमा राखेर अन्य कुराहरू दलहरूले संशोधन गर्नसक्छन' उनले भने –'कार्यकारी राष्ट्रपति बनाउने की प्रधानमन्त्री त्यो दलहरूले नै गर्नुपर्छ ।' 

उनले नेताहरूले आफूलाई सुधार गरेर नयाँ अनुहारको सरकार र सुशासनलाई कायम गर्न सके नेपाली जनताले वाह वाही गर्ने बताए । तर, केही नेताहरूमा श्री ५ को सर्वोच्चता भनेजस्तै शीर्ष नेताको सर्वोच्चता गराउन खोज्दा व्यवस्थामाथि प्रश्न उठेको बताए । 

गर्भनरको रेट ५० करोडमाथि 

मानवअधिकारवादी नेता पहाडीले नेपालका संस्थानहरूमा दलहरूले भागबन्डा गरेर तहसनहस पारेको टिप्पणी गरे । उनले २०७२ सालमा गर्भनरको रेट २५ करोड भन्ने सुनिएकोमा अहिले त्यो ५० करोड नाघेको बताए । '१० बर्षअघिसम्म डिआइजी एआईजीको ५÷७ करोड रेट सुनिथ्यो, अहिले १५ करोड नाघेको सत्य हो' उनले भने ।

उनले संसद्लाई दलहरूले राष्ट्रिय पञ्चायत जस्तो बनाएकाले जनतामा निराशा देखिएको बताए । अदालत, अख्तियार जस्ता निकायमा समेत दलहरूले भागबन्डा गरेर सेटिङ गरेको उनको टिप्पणी छ । 'लोकतान्त्रिक गणतन्त्रमा यस्ता इन्स्चि्यूट रहेनन् भने नागरिक कहाँ जाने ? उनले भने –'यस्तो बेला नागरिकले चिर्थोन थाल्छ, त्यसको परिणाम जे पनि हुनसक्छ।' उनले प्रमुख दलहरूलाई सुध्रेर अघि बढ्न आग्रह गरे । उनले दलहरूलाई मिलेर व्यवस्था जोगाउन समेत अपिल गरे । 

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update