
बुटवल – २०७७ जेठ १० मा भएको सोती नरसंहारमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक सहित ६ जना युवाहरुको सामुहिक नरसंहार तथा रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या भएको दिनलाई कालो दिनका रुपमा बुटवलमा स्मरण गरिएको छ । संयुुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलमा मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्जवलन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाईंले बोल्दै नवराज हत्याको मानवअधिकार तथा पत्रकारहरुको टोलीले स्थलगत अवलोकन गरी पीडित परिवारलाई भेट गरी रिपोर्ट बनाएर बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए । डा.चापागाईंले यो घटना राष्ट्रिय मुद्दा बन्दै चौतर्फी विरोध पछि छानबिनका लागि सरकारले संसदीय समिति गठन समेत गरेको बताउँदै हालसम्म पनि पीडितले न्याय नपाउनु दुःखद भएको बताए ।
संघर्ष समितिका संयोजक हरिओम विकले सोती नरसंहार र समाजमा विद्धमान जातीय भेदभाव र छुवाछूत प्रथा, जात व्यवस्था र नेपाली समाजमा यसको नकारात्मक प्रभावबारे आफ्ना विचार राखे ।
कार्यक्रममा सामुदायिक जागरण विकास मन्च रुपन्देहीका अध्यक्ष तथा दलित वर्ग जिल्ला समन्वय समिति रुपन्देहीका पुर्व उपाध्यक्ष राम विश्वकर्मा, दलित महिला संघ रुपन्देहीका अध्यक्ष मनु खड्का, हामी र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चित्रलाल विश्वकर्मा, कोषाध्यक्ष डोलेन्द्र गहतराज लगायतले बोल्दै २१ औं शताब्दीमा पनि जातीय विभेदका कारण ज्यान गुमाउनु परेको भन्दै राज्यले दोसीलाई कानुनीरुपमा कारवाही गरी कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।
संयुक्त दलित संघर्ष समितिका सदस्य रवि विकले कार्यक्रम सञ्चालन गरेका थिए ।