Lumbini Rise
लुम्बिनीमा दुई युवाहरूको समूहबिच झडप, एक जना घाइते 

 

बुटवल– रुपन्देहीको लुम्बिनीमा दुई समूहबिचको कुटाकुटमा एक जना घाइते भएका छन् । गएराती लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ जितवापुरमा दुई समूहका युवाबिच भएको कुटाकुटबाट विक्रम सिंह घाइते भएका हुन् । 

विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

स्थानीयका अनुसार जेठ २ गते देखि जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरू र वडा नंं. ५ मोहसड गाउँबाट गएका युवाहरूको समूहबिच शनिवार राति कुटपिट भएको हो । उक्त महायज्ञ स्थलमा मोहसडका केही युवाहरू रातिको समयमा गएर विवाद गर्दै आएका थिए ।

शनिवार राति पनि करिब १२ बजेतिर गएका युवाहरूको समूहले महायज्ञ स्थलमा रहेका युवाहरूसँग विवाद गरेपछि कुटपिट सुरु भएको थियो । 

अर्कै गाउँका युवाहरू महायज्ञ स्थलमा आएर कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अलि फकिर रहेका छन् ।

प्रहरीका अनुसार गोली नभएको एक थान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेर अनुसन्धान गरिएको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update