Lumbini Rise
प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता

भैरहवा– दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो।

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बल खेल्दै अलआउट भई १ सय ७० रन बनायो । उसका लागि योगेश्वर कुँवरले ४२, सन्दीप थापाले २४, शुभम् खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन बटुले ।

बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले २–२ तथा नीराजन थापा र श्रीजन भुजेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा बर्दिया ३० ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रनमै रोकियो । उसका लागि केशव विष्टले ४० र हेमन्त आचार्यले ३० रन बनाए । बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुभम् खनालले २–२ तथा करण घर्ती मगर र रिजन बुढाथोकीले १–१ विकेट लिए । खेलमा दाङका दक्ष ठाकुर प्लेयर अफ द म्याच भए ।

एक्स्ट्राटेक ओभलमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नवलपरासीले निर्धारित ३५ ओभरमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि आरोनजंग गिरीले २८, तिलक सापकोटाले २२, मनिष तिवारीले १४ र अजय चाईले ११ रन बनाए । बलिङमा पाल्पाका अमृत अर्यालले ४, दिवस अर्यालले ३, उपसन विक्रम जिसीले २ तथा कोसिस न्यौपानेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २१ ओभर २ बलमा सबै विकेट गुमाएर ६३ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न नवलपरासीका आर्यन अली, तिलक सापकोटा र प्रेम सागर यादवले ३–३ तथा अजर्य चाईले १ विकेट लिए । पाल्पाका अमृत अर्यालले १३ र उज्वल पाठकले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन छुन सकेनन् । खेलमा नवलपरासीका तिलक सापकोटा प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट सङ्घका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजना र रुपन्देही क्रिकेट सङ्घको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update