-1748268666.jpg)
दाङ (देउखुरी) - लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको एक टोलीले भेटघाट गरेको छ।
महासंघका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेट गरी आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा समावेश गर्ने कार्यक्रम र योजना बारे विस्तृत रुपमा छलफल गरेका हुन ।
उक्त अवसरमा मुख्यमन्त्री आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको बताए ।
“नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जबाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट सम्भव हुन्छ,” उनले भने – “यस कारण आगामी बजेटमा मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवर्द्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ ।”
महासंघ लुम्बिनीका अध्यक्ष चौलागाईंले पत्रकारहरूले प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सरकारले विशेष प्याकेज ल्याउन आवश्यक भएको बताए । यस्तै महासचिव शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिए ।
भेटका क्रममा मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले प्रदेश सरकारले पत्रकारसँगको नियमित समन्वयलाई संस्थागत गर्दै सञ्चार क्षेत्र सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याएका थिए ।