Lumbini Rise
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देही ७ र बाँके ३ विकेटले विजयी

भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्‍यो र जित निकाल्यो ।

रुपन्देहीका लागि कप्तान समीर अलि मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए । बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अलि मुसलमान प्लेयर अफ द म्याच भए ।

यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै जम्मा ९६ रन बनायो । उसका लागि केशव विष्टले १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन छुन सकेनन् । बलिङमा बाँकेका निखिल धनकुट्टा र आषिश नाउले ३–३, भुवन शाहीले २ तथा निराजन चन्दले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर ९७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा दियान्स बर्माले ४७ र निराजन चन्दले अविजित १२ रन  जोडे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १–१ विकेट लिए ।

खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update