
बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्बिरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइएको सङ्गठनले जनाएको छ ।
प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेनहरूको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए । दश वर्षे जनयुद्ध र तत्कालीन अवस्थामा पत्रकारिता क्षेत्रमा राज्यले गरेको हस्तक्षेप, पत्रकारमाथि धड्पकड़ र पत्रकार हत्याका शृङ्खलाहरूको स्मरण गर्दै पत्रकार जिसीले सेनले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।
अहिलेको सहज अवस्थाको सही ढङ्गले सदुपयोग गर्न र जनताको पक्षमा दृढतापूर्वक कलम चलाउन आग्रह गर्दै उनले सत्ताको निगरानी र खबरदारी गर्ने काममा पत्रकार चुक्न नहुने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सङ्गठनका जिल्ला अध्यक्ष विष्णु पोखरेलले देशका सीमित क्रान्तिकारी योद्धाको सूचीमा कृष्ण सेनको नाम अग्रस्थानमा आउने बताए । कृष्ण सेनको गिरफ्तारी र उनको हत्या नेपालको पत्रकारिता क्षेत्रलाई आतङ्कित पार्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने तत्कालीन शाही सरकारको असफल कदम रहेको उनले बताए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्यहरू सरु राना, रमेश पोखरेल, सञ्जय सौगातसहित जिल्ला पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।