
भैरहवा - रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ४ रनको बलियो योगफल खडा गर्यो । जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे । बलिङमा बाँकेका निखिल धनकुट्टा र निराजन चन्दले २–२ तथा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाँले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँके २८ ओभर ३ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो । उसका लागि विशालकुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३, आकाश थापा र संयकजंग थापाले २–२ तथा सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट हात पारे । खेलमा बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जनाए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।