
काठमाडौं – सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन्।
यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पुर्याइएको छ ।
सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ मा उल्लेख भएअनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । नेपालमा हाल विभिन्न शीर्षकमा सामाजिक सुरक्षा प्रदान गरिँदै आएको छ ।
जसअन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), क्षेत्र तोकिएका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख जाति, दलित बालबालिका र क्षेत्र तोकिएका बालबालिका गरी १० वटा विभिन्न वर्गले प्रत्येक महिना मासिक भत्ता पाउने गरेका छन् ।
सामाजिक सुरक्षा भत्ताको भारको विषय अहिले चर्चामा छ । यस विषयको बहस सार्वजनिक मञ्चदेखि संसद् हुँदै अदालतसम्म पुगेको थियो । वृद्ध भत्ताको उमेर ७० कायम राख्न चौतर्फी माग थियो । उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन र भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको थियो ।