
बुटवल – पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आबद्ध व्यवसायीहरूलाई बिहीबार पेट्रोलियम कारोबारमा सुरक्षा, गुणस्तर, परिमाण लगायतका विषयमा प्रशिक्षण दिएको छ ।
लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पूर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्री वितरण र व्यवस्थापन गर्दै आएको एसोसिएसनले वार्षिक कार्य योजना अनुसार ब्यासायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले समयको गतिसँगै पेट्रोलियम व्यवसायमा नयाँ प्रविधिको विकास सङ्गै सुरक्षा चुनौती पनि थपिएकाले प्रविधिको व्यवस्थापन र चुनौतीको सामना गर्न यस्ता तालिम तथा प्रशिक्षण उपलब्धिमूलक हुने बताए ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले ब्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्दै मर्यादित ढङ्गले व्यवसाय सञ्चालन गर्न ब्यवसायीहरुलाइ आग्रह गरे । अध्यक्ष गैरेले सरकारी निकायबाट आउने कर्मचारीले व्यवसायीको अनुगमन होइन व्यवसायीले कर्मचारीको अनुगमन गर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहजीकरण गर्दै गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक केसीले सरकारी निकाय र उपभोक्ताले व्यवसायीको अनुगमन गर्ने परिपाटिको विकास गर्न जरुरी रहेको बताए । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालले व्यवसायको सुरक्षा र सुव्यवस्था गर्ने जिम्मेवारी व्यवसायीको रहेको बताए ।
उनले डिजेल लोड गर्ने १६० ट्याङ्कर क्यालिब्रेसन टावरबाट क्यालिब्रेट नाप जाँच भएका र पेट्रोल लोड गर्ने ९० प्रतिशत ट्याङ्कर भलवारी टावरसङ्ग मिलान गरिएको जानकारी गराए । उनले भलवारी डिपोमा डिजेल ३० लाख ४० हजार, पेट्रोल ५ लाख १९ हजार र मट्टितेलको १ लाख ४० हजार लिटर भण्डारण क्षमता रहेको मा ६ लाख लिटर डिजेल, २ लाख लिटर पेट्रोल र १२ हजार लिटर मट्टितेल दैनिक बिक्री हुने हुने गरेको जानकारी गराए ।
कार्यक्रममा नेपाल आयल निगमका सुरेन्द्र सिंह विष्ट, दीपेश लिम्बुले पनि व्यावसायिक सुरक्षा र पेट्रोलियमको परिमाणका विषयमा सहजीकरण गर्दै आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक विधि सिकाएका थिए ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, दीपक भट्टराई, उपाध्यक्ष गोपाल बस्याल, व्यवसायीहरू वीरेन्द्र यादव, वेद गिरी, विष्णुदेव ओझा, भिश्मदेब भारी लगायतले बोल्दै प्राविधिक कमजोरीका कारण पेट्रोलियम पदार्थको परिमाण तल माथि पर्दा सरोकारवाला निकायले व्यवसायीलाई हतोत्साहित नबनाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा २०० बढी व्यवसायीहरू सहभागी भएका थिए ।