
बुटवल – १८ औँ गणतन्त्र दिवसको अवसर पारी कृष्णसेन इच्छुकको स्मृतिमा स्थापित कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बुटवलका २ जना पत्रकार पुरस्कृत भएका छन् । जनगर्जन मिडिया प्रालि र जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसी, लेखक तथा अग्रज दीपक विश्वकर्मा (छविलाल) लाई नगद सहित पुरस्कृत गरिएको हो ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्रकार द्वय जिसी र विश्वकर्मालाई दोसल्ला, नगद र प्रमाणपत्रले पुरस्कृत गरेका हुन । गणतन्त्र स्थापनाका लागि पत्रकारिता र साहित्य क्षेत्रबाट योगदान गरेका कृष्णसेन इच्छुकको सम्मानका खातिर गणतन्त्र दिवसको अवसरमा जनसंगठनले पत्रकारहरूलाई सम्मान गरेको हो ।
जिसी बुटवललाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् भने विश्वकर्माले साहित्य लेख रचना मार्फत योगदान दिँदै आएका छन् ।
कार्यक्रममा नेकपाका महासचिव विप्लव,नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाल,नेकपाका पिविएम एवम् रुपन्देही इन्चार्ज वसन्त श्रेष्ठ,बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे,बुद्धिजीवी एवम् नागरिक नायक घनश्याम पाठक,,वरिष्ठ मार्क्सवादी लेखक दिल साहनी,राजनीति अगुवाहरू बामदेव क्षेत्री, प्रेम सुवेदी,तेजेन्द्र केसी,बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईँ,पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्याम पोख्रेल लगायतले धारणा राखेका थिए ।
कार्यक्रम जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे, शिव डुम्रेको स्वागत तथा जिल्ला अध्यक्ष विनोद खनालको सञ्चालनमा भएको थियो ।