भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दिएको निर्देशन लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घले स्वागत गरेको छ ।
विगतमा भारतीय ट्रकहरूले ओभर लोड बोकेर नेपाल प्रवेश गर्दा सडक तथा पुलहरू भत्किने गरेका उदाहरणहरू ज्वलन्त रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अक्षराम्स पालना गर्ने संघका अध्यक्ष रुमाखर गौतमको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाली ट्रक व्यवसायीहरूले काम नपाएर पलायन हुनु पर्ने अवस्थामा प्रमुख जिल्ला अधिकारीको निर्णयलाई लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घले पूर्ण रूपमा पालना गर्दै ओभर लोड रोक्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदछौँ भन्ने उल्लेख छ ।
ओभर लोड बोकेर आउने भारतीय गाडी नेपालमा एक हजारको जरिवाना काटेर ७२ घण्टा गुड्न पाउँछन् । जसका कारण नेपालमा अर्बौँ खर्च गरेर बनेको सडक भत्किने गरेको छ । गत वैशाख २९ गते बेलुका ओभर लोड बोकेर हिँडेको ट्रक नवलपरासीको चोर मारा गिरुवारीमा रहेको पुल भत्कियो । म.प्र. ०३००१ ख ६३ नं. को १८ चक्के सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रकले उक्त पुल भत्काएको हो ।
सर्वोत्तम सिमेन्टबाट ओभर लोड सहितको कच्चा पदार्थ बोकेर हिँडेको उक्त ट्रकले पुल भत्काउँदा ड्राइभर्सनबाट पूर्व पश्चिम राजमार्ग सुचारु छ । गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुुम्किबासमा रहेको विनयी पुल ६४ चक्के भारतीय एन एल वान, ए एच ५१७९ टेलर गाडिले भाँच्न पुग्यो ।
पुस २१ गते कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट शिवम् सिमेन्टको ६० टनको जेनरेटर बोकेर जाँदा पुल भाँचेको थियो । उक्त पुल यतिबेलापनि ड्राइभर्सनबाट सञ्चालन भएको छ । भारतीय ओभर लोड बोकेका गाडीका कारण नेपालको सडक ध्वस्त भएको छ ।