
बुटवल– राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगिता भण्डारी रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवद्र्धनको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । यसअघि राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो ।
कार्यशालाले सरकारी विज्ञापन तथा अनुदानको समानुपातिक वितरण, संकटमा परेका आमसञ्चारका माध्यमलाई परियोजना धितो राखेर सहुलियत व्याजमा ऋणको सुविधा, सञ्चारमाध्यमहरुका लागि खरिद गरिने उपकरण तथा सवारी साधनहरुमा भन्सार छुट दिनुपर्ने, विद्युत महशुलमा छुट दिनुपर्ने, टेलिभिजनहरुको नविकरण सम्बन्धित प्रदेशबाटै गर्नुपर्ने लगायतका ११ बुंदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।