
बुटवल– बुटवल उपमहानगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा बुटवल १२ का गृहिणी महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम मंगलबारदेखि सुरु भएको छ ।
नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुका लागि १ महिने जुत्ता बनाउने तालिममा बुटवल–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष शर्माले गृहिणाी महिलाहरुलाई यो तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनले यस्ता तालिमले सीप आर्जनसंगै रोजगारमा जोडिन मद्दत पुग्ने भएकाले पालिकाले महिलादिदीबहिनीहरुलाई लक्षित गरेर यो तालिम आयोजना गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत तारा भुसालले बोल्दै यो तालिमले दिदीबहिनीहरुमा फलदायी हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बुटवल–१२ का वडा सदस्यहरु गंगादत्त पौडेल, गंगा विक (जमुना) लगायतको आतिथ्यता रहेको थियो ।
उक्त एक महिने तालिम प्रशिक्षक प्रतिमा पन्त र भोजकुमारी खनालले दिनेछन् भने कार्यक्रममा ३० जना गृहिणी महिलाहरुको सहभागिता रहेको थियो । सामुदायिक जागरण विकास मञ्चका अध्यक्ष राम विश्वकर्माको अध्यक्षता, सल्लाहकार डोलेन्द्र गहतराजको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रवि विकले गरेका थिए ।