Lumbini Rise
तिलाेत्तमामा सबै नागरिक सम्मानित भएर बाँच्न पाउँछ, कसैमाथि विभदे भए कारबाही गर्छौँ :  नगर प्रमुख खाँण 

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गरेको पाइए कानुन अनुसार कारवाही हुन्छ’ नगरप्रमुख खाँणले भने । उनले जातीय भेदभाव वा छुवाछुत भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउन समेत आग्रह गरे । 

आफूहरू तिलोत्तमा नगरभित्र कुनै पनि प्रकारको भेदभाव नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । भेदभाव र छुवाछुत अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर राष्ट्रिय स्तरमा बहस गरेको समेत उनले बताए । ‘दलित र गैर दलित समुदाय राष्ट्रिय स्तरको नेताहरूलाई सहभागी गराएर कार्यक्रम गरेका छौँ’ नगरप्रमुख खाँणले भने । उनले नगरपालिकाले पेसालाई मर्यादित, आधुनिकीकरण गर्न समेत नगरपालिकाले लगानी गरिरहेको बताए । 

यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले जातीय भेदभाव विरुद्ध समुदायस्तरमै सचेतना जगाउनुपर्नेमा जोड दिइन । उनले कानुनी रूपमा छुवाछुत अन्त्य भएको भए पनि व्यवहारमा अन्त्य गर्न लाग्नुपर्ने बताए । उपप्रमुख चौधरीले दलित समुदायको परम्परागत सिपलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए । 

यसै गरी अन्तर संवाद कार्यक्रममा तिलोत्तमा क्षेत्रका राजनीतिक पार्टीहरूका तर्फबाट नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेय, नेकपा एमाले नगर अध्यक्ष मीनप्रसाद पोख्रेल, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष रामचन्द्र भट्टराई, जनमुक्ति पार्टीका नगर उपाध्यक्ष प्रेम कनौजेले बोल्दै जातीय छुवाछुत पूर्ण अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य रवि सेन्चुरीले पहिलो चरणमा आफूहरू अध्ययन अनुसन्धानमा लागेको बताउँदै नीतिगत र कार्यक्रमका हिसाबले दलित समुदायको क्षेत्रमा काम भइरहेको बताए । उनले तिलोत्तमा दलित ज्ञान उत्सवदेखि दलित समुदायको रणनीतिक विकास योजना र पार्श्वचित्र प्रकाशन गरिएको प्रस्तुति राखे ।

यस्तै अन्तर संवादमा पत्रकार विनोद परियारले कार्यपत्र प्रस्तुत गर्दै सहरी क्षेत्रमा नयाँ रूपमा जातीय भेदभाव र छुवाछुत हुने गरेको बताए । उनले तिलोत्तमाले स्थानीय सरकारको हिसाबले दलित समुदायको क्षमता विकास, सिप विकास र राष्ट्रिय स्तरमा बहसको थालनी गर्नु सकारात्मक रहेको बताए । 

कार्यक्रममा दलित संयुक्त सङ्घर्ष समिति रुपन्देहीका संयोजक हरि ओम विश्वकर्माले संविधानमा दलित अधिकार लेखिएपनि छुवाछुत अन्त्य हुन नसकेको बताउँदै धर्म नै प्रमुख कारण रहेको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् सुशासन समितिका संयोजक राधा शाही, अर्का कार्यपालिका सदस्य लक्ष्मी घेले, रेडियो जागरणका पत्रकार अम्बिका परियार लगायतले बोल्दै जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाईएपनि व्यवहारमा विभेदबाट दलित समुदाय मुक्त हुन नसकेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, दलित अधिकारकर्मी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । २०६३ साल जेठ २१ गते दिन छुवाछुतमुक्त राष्ट्र घोषणा भएको थियो । सोही दिनलाई २०६८ सालदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउन थालिएको हो । 

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update