Lumbini Rise
माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस

बुटवल -  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम गर्न सुरु गरिएको सो पार्टीले जानकारी दिएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेल दलित समुदायको भएको स्मरण गर्दै युगान्तकारी परिवर्तनको पहरेदार दलित समुदाय भएको बताए । जनयुद्धको समयमा माओवादीको नेतृत्वमा छुवाछुत विरुद्ध जनस्तरमा काम भएको र माओवादीकै पहलमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको उनले बताए ।

नेता बरालले दलित समुदायलाई संविधानले अधिकार प्रदान गरेको भए पनि चेतना अभावका कारण अधिकारको पूर्ण प्रयोग गर्न नभएको बताए । दलित समुदायको सशक्तीकरणका लागि शिक्षा र आयआर्जनमा जोड दिनु पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज सोनिया यादवले छुवाछूत विरुद्धको अभियान घरबाटै सुरु गर्नु पर्ने बताइन । आफू बच्चा हुँदा दलित समुदायको साथीहरूसँग हिँड्दा आमाको गाली खाएको स्मरण गर्दै उनले अहिले आमाले दलित समुदायका साथीहरूले पकाएको खाने गरेको बताइन । “आमालाई मानिसलाई विभेद गर्नु हुँदैन भनेर सम्झाएँ आजभोलि आमाले दलित समुदायको साथीहरूले पकाएको खानुहुन्छ” उनले भनिन । माओवादी केन्द्रका केन्द्रीय सदस्य राम परियारले माओवादी नेतृत्व सधैँ सीमान्तकृत वर्ग क्षेत्र र समुदायको पक्षमा रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदनमा जनसङ्ख्याका आधारमा दलित‚ महिला‚ मुस्लिम लगायत सीमान्तकृत वर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुनु पर्ने बताएको उल्लेख गर्दै उनले माओवादी असल रूपमा सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने पार्टी भएको बताए ।

पार्टीका रुपन्देही जिल्ला संयोजक नारायण जिसी निर्मलले जातीय विभेद अन्त्य माओवादीको एजेन्डा भएका कारण पार्टीकै आयोजनामा कार्यक्रम गरिएको बताए । आगामी वर्ष अझ परिष्कृत तरिकाले कार्यक्रम गर्ने योजना रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update