
बुटवल– राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुत्रलबार सम्पन्न भएको छ । बुटवल स्थित कालिका मानवज्ञान माविमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित तवरले परीक्षण सम्पन्न गर्ने र विद्यार्थीहरुको एक बर्ष सम्मको मेहेनतको वास्तविक मुल्यांकन हुने गरि परीक्षण गर्नुपर्ने बताए ।
उनले बुटवल आसपासमा लामो समय शिक्षण पेशा र उत्तरपुस्तिका परीक्षण गर्नुभएका गुरुहरुलाई सहजकर्ताको रुपमा राखिएको बताए । उनले ३० वटा बिषयको उत्तरपुस्तिका परिक्षण कार्यका लागि कम्तिमा सन् २०२२ मा स्नातकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित बिषय कम्तीमा ३ बर्ष अध्यापन गरेका बिषयगत शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी प्रदान गरिने बताए । अभिमुखीकरण कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयहरुमा कक्षा १२ अध्यापनरत ३०० भन्दा बढी बिषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षण सम्बन्धी ध्यान दिनुपर्ने कुराहरुका बारेमा कार्यालय प्रमुख रमाकान्त तिवारीले अभिमुखीकरण गरेका थिए ।
बिषयगतरुपमा सहजीकरणका लागि १० वटा बिषयका बिषयगत शिक्षकहरुलाई जिम्मेवारी प्रदान गरि प्रश्न पत्र र उत्तरकुन्जिकाको बारेमा छुट्टाछुट्टै रुपमा गहन छलफल गराइएको र नमुना उत्तरपुस्तिका परीक्षण कार्य समेत सम्पन्न गराइ परीक्षणमा देखापर्न सक्ने त्रुटिका बारेमा सम्पूर्ण परीक्षकहरुलाई जानकारी गराईएको प्रमुख तिवारीले बताए ।
सो अभिमुखीकरण कार्यक्रममा अनिवार्य नेपाली बिषयमा बिष्णु हरि ज्ञवाली र लेखनाथ पौडेल, अनिवार्य अङ्ग्रेजीमा चण्डी प्रसाद पाण्डे र युवराज पन्थी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बिषयमा लेखनाथ खनाल र गुणाखर भट्टराई, अर्थशास्त्रमा सुदर्शन रेग्मी, भौतिकशास्त्रमा कृष्ण प्रसाद अधिकारी , रसायनशास्त्रमा दिपक थापा, अनिवार्य गणितमा मानध्वज गिरी, शिक्षा र विकासमा गोबिन्द भुसाल तथा शैक्षणिक विधि बिषयमा सुमीत्रा सापकोटा र जमुना पाण्डेले सम्बन्धित बिषयको परीक्षण सम्बन्धमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कालिका मानवज्ञान मा.विका प्रधानाध्यापक दिनेश थापाले परीक्षण केन्द्रमा परीक्षकहरुलाई सहज वातावरणमा उत्तरपुस्तिका परीक्षण गर्न मिल्ने वातावरण निर्माण हुने र आवश्यक सहयोग गर्न विद्यालय तत्पर रहेको जानकारी गराउदै विद्यार्थीहरुको वास्तविक मुल्यांकन हुनुपर्नेमा जोड दिए ।
अभिमुखिकरण कार्यक्रमको सन्चालन राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले गरेका थिए । शाखा अधिकृत भण्डारीले करिब ४०० जना योग्यता प्राप्त बिषयगत शिक्षकहरुको सहभागितामा मिति २०८२ जेठ २५ गतेदेखी उत्तरपुस्तिका परीक्षण कार्य प्रारम्भ हुने र १५ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राष्ट्रिय परीक्षा बोर्ड, बुटवलले राखेको जानकारी दिए ।