Lumbini Rise
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा 

पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेकोमा परीक्षण पश्चात यार्सागुम्बा पुष्टि भएको बताए । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि थियो । गाउँपालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको छ। 

प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिए ।

एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् । ह‍िमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ ।

यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुँदै आएको छ । 


 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update