
बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यस संस्थाले संस्थाको उदेश्यसंगै समानतामुलक समाज निर्माणमा पनि निरन्तर योगदान दिंदै आएको बताएका थिए । २१ औं सताब्दीमा पनि अझै मानव–मानव वीचमा भेदभाव र छुवाछुतको श्रृंखला कायम रहेको भन्दै यसको निराकरणका लागि सबैसंग हातेमालोको जरुरी रहेको उनले बताए ।
यस्तै बिशिष्ठ अतिथि परियार सेवा समाज केन्द्रीय उप–महासचिव सरोज गौतमले निकै मेहनत र संघर्षले यस संस्थाको स्थापना भएको बताउदै ३० औं वर्षको अवधिसम्म आइपुग्दा परियार समुदायको हकहितका साथै सम्पूर्ण दलित मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
अधिवक्ता जानकी बराहले परियार सेवा समाजले परियार समुदाय मात्रै नभई समग्र दलित मुक्ति आन्दोलनमा पनि उत्तिकै योगदान दिंदै आएको बताउदै समातामुलक समाज निर्माणमा यस संस्थाले उल्लेखनीय योगदान दिँदै आएको बताईन । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य संजय सौगात परियार सेवा समाजले सम्पूर्ण परियार समुदायलाई एकीकृत एउटै छातामुनि राखी समतामुलक समाज निर्माणमा अग्रसरता देखाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा सैनामैना सिलाई व्यवसायी संघका अध्यक्ष सन्तोष परियार, सल्लाहकार बाबुराम परियार, दलित अभियन्ता कुमार पहाडी लगायतले बोल्दै सम्पूर्ण परियारहरु एकजुट भएर यस समाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रम परियार सेवा समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।