
बुटवल - लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् । आइतबार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर, थारु र मधेसी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा तयार रहेको प्रतिबद्धता जनाए ।
"विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु र मधेसी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा हरदम तयार छ । " - शुभकामना सन्देशमा उल्लेख छ ।
सांस्कृतिक भूमे पर्व बाह्र मगराँत र अठार मगराँत सभ्यता र मगर इतिहासका मगराँती संस्कार र संस्कृतिहरू मध्ये अठार मगराँती समुदायको मुख्य पर्व हो । मगर समुदाय मगराँत भूमिको भूमि पुत्र हुनुको साथै प्रकृति पूजक समुदाय भएकाले यो पर्वलाई मुख्य पर्वको रूपमा मनाउँदै आएको छ । लुम्बिनी प्रदेशको रुकुम, रोल्पा, प्युठान र दाङका अठार मगराँत क्षेत्रमा सामूहिक रूपमा बाजाको तालमा नाचेर यस पर्व धूमधामका साथ मनाइन्छ ।
यसको मुख्य केन्द्र रोल्पा जिल्लाको थवाङ्ग मिरुल, कुरेली, उवा र जेलवाङ्ग हुन भने पूर्वी रुकुम जिल्लाको महत, काक्री, तक, सेरा, हुकाम र मैकोट क्षेत्र पर्दछन् ।
"नेपाल बहुभाषिक, बहु धार्मिक र बहुसाँस्कृतीक विविधतायुक्त मुलुक हो । सबै जातजाति भासाभासीहरूको आफ्नै मौलिक सांस्कृतिक रीतिरिवाज र चाडपर्व छन् ।" शुभकामना सन्देशमा उल्लेख छ-"यस पर्वको मुख्य अर्थ मगरात गणराज्यको सामूहिक जीवनशैली र सामूहिक विचार नै हो ।" पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागी यस प्रकारको चाडपर्वले महत्त्वपूर्ण भूमिका खेलेको समेत सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले यो पर्वले अठार मगराती समुदायको मौलिक सांस्कृतिक पक्षको उजागर र प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे ।साथै सभामुख घर्तीले भूम्या पर्वको अवसरमा राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र सांस्कृतिक रूपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, सङ्घर्ष, आन्दोलन र महान् जनयुद्धमा मगर समुदायले खेलेको भूमिकाको उच्च सम्मान गरेका छन् ।
भूम्याकाे अवसरमा लुम्बिनी सरकारले रुकुम, रोल्पा, प्युठान र दाङमा बिदा दिएको छ ।