Lumbini Rise
बजेटको संघारमा लुम्बिनीका मन्त्रीहरूको मोबाइल स्विच अफ !

बुटवल – लुम्बिनी प्रदेशका मन्त्रीहरू बजेट ल्याउने समय नजिकिँदै गर्दा मोबाइल स्विच अफ गरेर आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभामा आइतबार (आज) दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहे पनि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका मन्त्री र सांसदहरूबिच बजेटका विषयमा असहमति भएपछि मन्त्रीहरू स्विच अफ गरेर छलफलमा जुटेका हुन् ।

नेपाली काँग्रेसबाट अर्थमन्त्री भएका धनेन्द्र कार्कीको मोबाइल स्विच अफ छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्ना योजनाहरू समावेश गर्न भन्दै दबाब दिएको र काँग्रेसका सांसदहरूले भनेको योजना नपरेको भन्दै पार्टीभित्रबाटै समेत दबाब परेपछि उनी मोबाइल स्विच अफ गरेर बसेको बताइएको छ । काँग्रेसबाट मन्त्री भएका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाको पनि मोबाइल स्विच अफ छ ।

यसै गरी सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले पनि मोबाइल अफ गरेका छन् । काँग्रेसका मन्त्रीहरूले सत्तारुढ दलमा रहेर पनि एमालेले पेलेको भन्दै आपत्ति जनाएपछि छलफलमा जुटेका छन् ।

काँग्रेसबाट निर्वाचित एक सांसदका अनुसार मुख्यमन्त्रीले बजेटका विषयमा अर्थमन्त्रीलाई हस्तक्षेप गरेकाले त्यसमा असहमति बढेको हो । सांसदहरूलाई ३/३ करोड बजेट राखेर अर्थमन्त्रीले बजेट ल्याउने तयारीमा जुटेका छन् । यद्यपि यस विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले विरोध हुने भन्दै कटौती गर्न भनेपछि सत्तारुढ दलका मन्त्रीहरुविच विषय बाझिएको हो । बजेट ल्याउनेबारेमा सतहमा कोही नबोले पनि दुई दलका बिचमा रहेको मतभेद साम्य पारेर मात्रै मन्त्रिपरिषद् बस्ने तयारी भइरहेको छ ।

बजेटका नीतिगत प्रक्रियाका कारणले ढिलाइ भएकाले मात्रै समय सारिएको स्वास्थ्य मन्त्री खेम सारू मगरले बताए । उनले कुनै असहमति वा बेमेलका कारणले बजेट ल्याउने विषयमा फरक मत नरहेको दाबी गरे ।

उनका अनुसार साँढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने छ । मन्त्रिपरिषद् बैठकअघि नै सहमतिका लागि मन्त्री, सांसद र दलका नेताहरू जुटेका छन्। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले सरकारले ५ बजेका लागि समय माग गरेकाले सारिएको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update