
काठमाडाैं - नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आज सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे स्कटल्यान्डको ग्लास्गोमा सुरु हुनेछ।
नेपालले भने आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। विश्वकप लिग-२ को आफ्नो चौथो शृंखला खेल्न स्कटल्यान्ड गएको नेपालले उतै टी-२० शृंखला खेल्न लागेको हो।
अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्शन झाले लिग-२ मा नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेल गुमाएका थिए। उनीहरू टी-२० शृंखलामा समेत उपस्थित हुने छैनन्।
लिग-२ मा बाहेक नेपाल क्रिकेट संघ (क्यान) ले लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंहलाई टोलीमा राखेको छ।
लिग -२ को चौथो शृंखलामा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो। नेपाल १६ खेलबाट १२ अंकमा तालिकाको सातौं स्थानमा छ।