
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
कार्यालयमा हाल राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेहरुको चाप रहेकोले बिहान ६ बजेदेखि नैं सेवाग्राहीहरु लाइनमा बस्न बाध्य भएको भन्दै एमालेले जनतालाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह हुने वातावरण मिलाउन माग गरेको हो ।
राज्यले प्रदान गर्ने सबै प्रकारका सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकोले कार्यालयमा सेवाग्राहीको चाप परेको र सोही अनुसारको सेवा प्रवाह दिन हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको ज्ञानपपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझेपछि ईलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले सेवाग्राहीको अत्याधिक चापका कारण समस्या भएको तथा चापअनुसार उपकरण र जनशक्तिको अभावका बिच कार्यालयले सेवा प्रदान गरिरहेको बताए । उनले बुटवल उपमहानगरपालिकालाई पालिकाको तर्फबाट एउटा केन्द्र थपेर काम गर्न अनुरोध गरेको जानकारी दिए ।