
बुटवल – पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ। गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने गाडीहरु प्रभावित भएका हुन्।
र डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले गाडी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालले बताए। मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने वैकल्पिक बाटो प्रयोग गरेका छन्।
यस्तै दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भइरहेको छ । दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ।
धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्न्। त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ । दाउन्ने खण्डमा सवारी साधनहरु बल्ल–बल्ल पास भइरहेका छन्।