
बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।
उपमहानगरले निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै उनले निजी क्षेत्र बिनाको बुटवल कल्पना गर्न नसकिने बताए ।
बुटवल सम्भावनाको सहर भएकाले होटेल व्यवसायीले पनि व्यवसाय वृद्धिका लागि नयाँ नयाँ सम्भावना खोज्नु पर्नेमा जोड दिए । प्रमुख पाण्डेले आन्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमा राख्न टुर प्याकेज घोषणा गर्न व्यवसायीलाई सुझाव दिए ।
बुटवल उपमहानगर उपप्रमुख सावित्री देवी अर्यालले बुटवलको पर्यटन विकासका लागि बुटवल देखि मुक्तिनाथसम्म रहेका विभिन्न पालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न लागिएको बताइन । उनले भारतबाट मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटकको विश्राम स्थलको रूपमा बुटवललाई विकास गर्नु पर्नेमा जोड दिइन् ।
उपप्रमुख अर्यालले विश्वभरका होटलहरुमा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि काउन्टरमा राख्ने गरिएको उदाहरण दिँदै बुटवलमा पनि यसको सिको गर्न आग्रह गरिन् ।