Lumbini Rise
तिलोत्तमा नगरपालिकाद्धारा कृषक सेवा कार्ड वितरण सुरु

बुटवल - तिलोत्तमा नगरपालिकाले किसानहरूलाई कृषक सेवा कार्ड वितरण सुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमा आधारित व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि तिलोत्तमा-१४ टिकुलिगढ़मा कार्ड वितरण सुरु गरिएको हो।सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।

 नगरपालिकाका ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक मल बिउ बिजन सिँचाइ र अनुदानका लागि कृषक सेवा कार्डले ठुलो योगदान दिने नगरप्रमुख खाँणले जिकिर गरे ।कृषकका पसिनाले आर्जेको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले ठुलो योजना बनाएको बताउँदै उहाँले कृषि क्षेत्रमा लगानी गर्नको लागि नयाँ पुस्तालाई अग्रसर गराउनुपर्ने समेत बताए।

 कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अस्बिंन पौडेलले किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बिउ, मल, किटनाशक औषधी लगायतका सामानहरू सहुलियतमा नजिकको पसलबाट खरिद गर्न र अनुदान प्राप्त गर्न समेत सहज हुने बताएका थिए ।

कार्यक्रमको सुरुवात गर्दै पहिलो चरणमा १९ जना कृषकलाई सो कार्ड वितरण गरिएको थियो। कार्यक्रममा वडा सदस्य भूपाल सिंह छन्तेल, विष्णुमाया पुन, सन्तवीर चौधरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत राम प्रसाद खनाल, सौरभ बस्ताकोटी, वडा सचिव तेजेन्द्र बस्नेत, कृषि प्राविधिक अस्मिता ज्ञवाली, बिन्दु रायमाझी लगायत कृषकहरूको उल्लेख्य उपस्थिति थियो। 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update